स्वास्थ्य

जनस्वास्थ्य सङ्घमा निर्वाचन हुने

काठमाडौँ । नेपाल जनस्वास्थ्य सङ्घको नयाँ नेतृत्व चयन गर्न यही असोज १३ गते निर्वाचन हुने भएको छ । नेपाल जनस्वास्थ्यकर्मी सङ्घ (प्रजातान्त्रिक) समूह र नेपाल जनस्वास्थ्यकर्मी (प्रगतिशील) : समूह मुख्यरुपमा चुनावी प्रतिस्पर्धामा रहेका छन् । प्रजातान्त्रिक समूहको नेतृत्व श्रीकृष्ण भट्ट र प्रगतिशील समूहको नेतृत्व डा. मोहनकृष्ण श्रेष्ठले गरेका छन् । हाल सङ्घअन्तर्गत करीब एक हजार ६०० सदस्य छन् । ‘परिवर्तन, पेशागत विकास र तथ्यमा आधारित जनस्वास्थ्य सेवा प्रगतिशील समूहको प्रतिबद्धता’ लाई प्रगतिशील समूहले मूल नारा तय गरेको छ ।

“जनस्वास्थ्यलाई सुदृढ बनाउँदै जनस्वास्थ्यकर्मीको पेशागत हितमा ध्यान दिन्छौँ”, प्रगतिशील समूहका अध्यक्ष पदका प्रत्यासी डा. श्रेष्ठले भने । सो समूहबाट सुदर्शन पौडेल उपाध्यक्ष, चित्रजङ्ग शाही महासचिव, रमेश भट्ट कोषाध्यक्ष दीपेन्द्र खड्काले सचिव पदमा उम्मेदवारी दिएका छन्।

“जनस्वास्थ्यमा समस्याका रुपमा रहेका सरुवा तथा नसर्ने रोगमा कमी ल्याउन र पेशाकर्मीका हकहितमा प्रमुखरुपमा ध्यान दिन्छौँ, यसैलाई चुनावी कार्यसूचीसमेत बनाएका छौँ ”, प्रजातान्त्रिक समूहका अध्यक्ष पदका प्रत्यासी भट्टले भने । सो समूहबाट महेश्वर श्रेष्ठ महासचिव, विनोद जोशी कोषाध्यक्ष र रामानन्द पण्डितले सचिव पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन सातवटै प्रदेशका प्रदेशमुकाम र काठमाडौँमा तय गरिएको छ । हाल देशभर १६ वटा शिक्षण संस्थामा जनस्वास्थ्य विषयको अध्ययन हुन्छ । यसबाट वर्षेनी एक हजारको हाराहारीमा स्नातक तह उत्तीर्ण हुने गर्दछन् ।