प्रदेश 1

विधेयक प्रस्तुत

विराटनगर । प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ दफावार छलफलका लागि न्याय प्रशासन तथा विधायन समितिमा पठाइयोस् प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली २०७४ को नियम ९४(१) (ख) बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले आज सदनमा उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ मा संशोधन प्रस्ताव दर्ता भएको जानकारी दिए । संशोधनका लागि प्रस्ताव दर्ता गराउने प्रदेशसभा सदस्य जयराम यादव, सूर्यमाराज राई, शिवनारायण गनगाईं, केदार कार्की, सुुमित्राकुमारी रेग्मी र अम्बिका थापा छन् ।

यसैगरी प्रदेश नं १ को प्रदेशसभा नियमावली २०७४ को नियम १०५ बमोजिम सामाजिक विकास समितिका अध्यक्ष अगमलाल चौधरीले प्रतिवेदनसहित प्रदेश घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सभामा पेश गरे । प्रदेशसभाको अर्को बैठक असोज १० गते दिउँसो १ बजे बस्नेछ ।

यसअघि शून्य समयमा प्रदेशसभा सदस्य विजयकुमार विश्वासले मोरङको विराटचोकदेखि घिनहाघाटसम्मको बाटो तत्काल मर्मत हुनुपर्ने, गत वर्षमा लोहन्द्रा खोलामा आएको बाढीबाट पीडित परिवारलाई राहत वितरण गर्न माग गरे ।

प्रदेशसभा सदस्य मोहम्मद ताहिर मियाँले सुनसरीको रामनगर भुटहामा भएको गोलीकाण्डमा ज्यान गुमाएका खुर्शिद अन्सारीलाई हत्या गर्ने अज्ञात समूह प्रहरीको बीचबाटै भागेकामा दुःख व्यक्त गरे । प्रदेशसभाका अर्का सदस्य वसन्तीदेवी यादवले शहरी क्षेत्रमा विद्युतीय तार विस्तार गर्दा भूमिगत गराउनुपर्ने माग गरे ।