राजनीति

निजगढ विमानस्थलबारे वनमन्त्रीले मुख खोले !

काठमाडौँ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे आफ्नो मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच कुनै विमति नरहेको स्पष्ट पारेका छन् ।

राष्ट्रिय संरक्षण दिवसका अवसरमा ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आज आयोजित कार्यक्रममा उनले विमानस्थल निर्माणबारे दुवै मन्त्रालयबीच समन्वयात्मक रुपमा छलफल चलिरहेको बताए । मन्त्री बस्नेतले भने, “दुवै मन्त्रालयको समान धारणा छ, विमानस्थल जसरी पनि बन्नुपर्छ,” उनले भने ।

उनले मुलुकको आवश्यकताले अर्को अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउनु परेको भन्दै त्यसबारे नकारात्मक बहस नगर्न सम्बद्ध पक्षलाई आग्रह गरे । “मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताले नधान्ने अवस्थामा पुगेकाले विकल्पका रुपमा निजगढ विमानस्थल निर्माण गर्न लागिएको हो” उनले भने ।

विमानस्थल निर्माणबारे केहीले सकारात्मक चिन्ता जाहेर गरेको, केहीले स्थानीय स्वार्थ र केहीले राजनीतिक स्वार्थका आधारमा बहस चलाएको भन्दै उनले सकारात्मक चासोको सम्मान गर्दै सरकारले विमानस्थल निर्माण गरेरै छाड्ने अठोट व्यक्त गरे । कमभन्दा कम वातावरणीय क्षतिमा विमानस्थल बनाउनुपर्ने विषयमा आफू सचेत र स्पष्ट रहेको मन्त्री बस्नेतले बताए ।

“विमानस्थल बन्नुपर्छ, त्यो न्यूनतम वातावरणीय क्षतिमा हुनुपर्छ”, मन्त्री बस्नेतले भने, “कमभन्दा कम क्षतिमा विमानस्थल बन्नुपर्छ भन्नेमा सरकारको स्पष्ट दृष्टिकोण छ ।” सकारात्मक चासो, चिन्ता र जिम्मेवारी बोधसहित जैविक विविधताको संरक्षणबारे उठाइएका सवालहरुको भने सरकारले उचित सम्मान तथा सम्बोधन गर्ने मन्त्री बस्नेतले प्रतिबद्धता व्यक्त गरे ।

वातावरण र विकासलाई एकअर्काका विरोधी पक्षका रुपमा नभई पूरकका रुपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । सोही दिनको सम्झनामा वन मन्त्रालयले हरेक वर्ष असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसका रुपमा मनाउँदै आएको छ ।