पर्यटन/संस्कृति

जोगाइँदै दुर्लभ शालिग्राम

बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेमा निर्माणाधीन ‘स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’ निमार्ण अघि बढेकोे छ । प्राकृतिक र मानवीय अतिक्रमणका कारण लोपन्मुख अवस्थामा पुगेको शालिग्राम जोगाउन सङ्ग्रहालय बनाउन लागिएको हो ।

धार्मिक हिसाबले पवित्र मानिने बहुमूल्य उक्त शिला कालिगण्डकी (पौराणिक नाम कृष्णागण्डकी) नदीमा मात्र पाइन्छ । हिन्दू धर्म र संस्कारमा शालिग्रामलाई विष्णु भगवान्को अवतारका रुपमा लिइन्छ । कुँडुलेमा रहेको श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर परिसरमा बन्ने सङ्ग्रहालय एक वर्षभित्र पूरा गरिने लक्ष लिइएको छ ।

सत्तरी मिटर लामो सुरुङ भित्र बन्ने सङग्रहालयको ३५ मिटर सुरुङ खनिएको छ । सङ्ग्रहालयमा २० हजार शालिग्राम राखिने मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिए ।
रु ‘‘चार करोडको लागतमा सङ्ग्रहालय बन्दैछ’’ उनले भने, “सुरुङ निर्माणको काम आउँदो मङ्सिरसम्म सकिन्छ ।” धार्मिक महत्वको पवित्र र दुर्लभ शालिग्राम लोप हुने खतरा बढेपछि संरक्षणमा लाग्नुपरेको अध्यक्ष प्रपन्नाचार्यको भनाइ थियो । भूगर्वविद्सहितको प्राविधिक टोलीबाट सम्भाव्यता अध्ययन गराइ गुफा निर्माणको कामअघि बढाइएको हो । सुरुङ निर्माणको काम ‘साउथ एशियन इन्फास्ट्रक्चर कन्सट्रक्सन प्रालि’ ले गरिरहेको छ ।

सुरुङभित्र बन्ने सङ्ग्रहालयको शुरुको भागमा दामोदर कुण्डदेखि त्रिवेणीधामसम्मका धार्मिकस्थलको नक्सा, दोस्रोमा शालिग्राम र अन्तिम खण्डमा शालिग्राम र कालीगण्डकी नदीको महिमा झल्कने गरी वृत्तचित्र राखिने छ । सङ्ग्रहालय निर्माणले धार्मिक पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पु¥याउने विश्वास लिइएको छ ।

‘‘एकातिर विश्वमै दुर्लभ शालिग्राम को संरक्षण हुनेछ,’’ अध्यक्ष प्रपन्नाचार्यले भने, “सङ्ग्रहालयले पर्यटन विकासमा पनि मद्दत पुग्छ ।” सङ्ग्रहालय हिन्दू धर्मालम्बीको पवित्र गन्तव्य बन्ने ठानिएको छ । सोही ठाउँमा बनिरहेको श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरको काम पनि अन्तिमचरणमा पुगेको छ । रु छ करोडको लागतमा बन्न लागेको मन्दिरको ८५ प्रतिशत काम पूरा भएको जनाइएको छ ।

विसं २०४२ मा निर्मित मन्दिर जीर्ण बनेपछि पुनःनिर्माण गरिएको हो । प्यागोडा शैलीको मन्दिरमा श्रीराम अङ्कित कालीगण्डकी नदीका शिला (ढुङ्गा) र सालको काठ प्रयोग गरिएको छ । सालको काठमा आर्कषक कला कुँदेर मन्दिरका टुँडाल, झ्याल, ढोका बनाइएको छ ।

मन्दिर निर्माणको काम भक्तपुरका दक्ष कालीगढले गरेका हुन् । प्राचीन नेपाली कला र शैली झल्कने गरी बनाइएको मन्दिरमा ६४ टुँडालमा विभिन्न देवी, देवताका आकृति कुँदिएका छन् । मन्दिरमा भगवान मुक्तिनाथ, श्रीरङ्गनाथ, श्रीवेङ्कटनाथ, श्रीदेवी, भूदेवी र नीलादेवीका मूर्ति राखिने जनाइएको छ ।