शिक्षा

ललितकलामा भविष्य खोज्दै विद्यार्थी

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयअन्तर्गत ललितकला विषयको स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीको सामूहिक चित्रकला प्रदर्शनी शनिबारबाट नेपाल कला परिषद्मा शुरु भयो ।

विश्वविद्यालयले अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीको चित्रकला सालिन्दा प्रदर्शनी गर्दै आएको छ । अध्यनरत विद्यार्थी पनि पढाइ सकेपछि यसैलाई व्यावसायिकता दिने विचारमा छन् ।

सो प्रदर्शनीमा ललितकला विषयमा अध्ययनरत दजु चित्रकार कागजी रुपमा मात्र प्रस्तुत गरिने चित्रलाई डिजिटल माध्ययमबाट प्रस्तुत गरेका छन् । सानैदेखि चित्रकलामा रुचि राख्ने उनी आफ्नो सपनालाई यथार्थमा परिणत गर्न नै ललितकला विषय पढेको बताउँछन् । ‘फाइन्डिङ हार्मोनी विथ इन’ नामक एनिमेसन चित्र प्रदर्शनी गरेका चित्रकार यसैमा आफ्नो भविष्य बनाउने विचारमा रहेको बताउँछन् । उनी भन्छन्, “एनिमेसन खर्चिलो छ, समय पनि लाग्छ, तर पनि नयाँ प्रविधिमार्फत कला प्रस्तुतिमा म आफ्नो भविष्य देख्छु ।” विदेशमा पनि यस्तो कला प्रस्तुत गर्ने उनको योजना छ ।

ललितकलामा अध्ययनरत विद्यार्थीको रुचि फरकफरक छन् । कसैले आफ्नो कलालाई प्रस्तुत गर्न कम्प्युटरको प्रयोग गरेका छन् त कोही परम्परागत चित्रकलालाई व्यवस्थित रुपमा बनाउँदैछन् ।

बौद्धका २२ वर्षीय सौरभ चित्रकार भन्छन्, “सानैदेखि बुबाले बनाउनुभएको चित्र घरको भित्तामा टाँगिएको देखेर मलाई यस्तै चित्र बनाउन सिक्छु भन्ने लाग्थ्यो, बुवाले मेरो रुचि थाहा पाएर भर्ना गरिदिनुभयो ।” आफूले चित्रकला सम्बन्धी पढाइ शुरु गरेपछि बुबाले पनि घरमा चित्र बनाउने कामलाई निरन्तरता दिँदै आएको उनले थपे । “पहिले बुबाबाट सिकिन्थ्यो भने अहिले बुबालाई नै सिकाउने गरेको छु”, उनले खुशी व्यक्त गरे । बुवाले देवीदेवताका चित्र बनाउने हुँदा आफू पनि पौराणिक तथा धार्मिक चित्रकलामा लागेको उनको भनाइ छ ।

पाटनकी प्रियंका महर्जन स्मृति चित्र बनाएर प्रस्तुत गर्न मन पराउँछन् । सो चित्रकलामा नै व्यावसायिकपन दिने रहरले थप सिक्न अध्ययन थालेको बताउँछन् । “स्मृति चित्रकलामा पुराना सम्झनालाई पछिसम्म यादगार बनाउन मद्दत गर्ने भएकाले नै मेरो यसप्रति रुचि बढ्दै गयो”, उनले भने ।

विश्वविद्यालयले सन् २००३ देखि ललितकला सम्बन्धी पढाउन शुरु गरेको थियो । आठ वटा सेमेस्टरमा पढाइ हुने यस विषयमा दुई वर्ष सिकाइने र दुई वर्ष विद्यार्थीलाई नै चित्र बनाउन लगाइने विश्वविद्यालयका प्राध्यापक प्रतिमा थकाली बताउँछन् ।

विश्वविद्यालयमा विदेशबाट पनि विद्यार्थी पढ्न आउने गर्छन् । शुरुमा विद्यार्थीलाई पायक पर्ने स्थानमा प्रदर्शनी गरिन्थ्यो । सन् २०११ देखि सामूहिक रुपमा प्रदर्शनी गर्नुपर्ने व्यवस्था गरियो । ललितकला विषयमा २५ जनाको कोटा छ तर सङ्ख्या भने घटबढ हुन्छ । विश्वविद्यालयबाट २०७३ सालमा २६ र २०७४ सालमा १६ जना उत्तीर्ण भए । यस वर्ष २६ विद्यार्थी परीक्षामा सामेल छन् ।