समाचार

आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौँ । नेपाल स्रष्टा समाजको ११ औँ साधारणसभाले विधान आचार्यको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

उक्त कार्यसमितिको उपाध्यक्षमा प्रा डा गोविन्दमानसिंह कार्की, महासचिवमा पुष्पा खनाल, कोषाध्यक्षमा नवराज तिमिल्सिना (अवदोषी), र सचिवमा जानु धिताल तथा सदस्यमा डा. पुष्करराज भट्ट, डा. विष्णु राई, तर्कना शर्मा, लेखजङ्ग खत्री, नवराज पुडासैनी (ज्योत्स्ना) र रश्मि रिमाल निर्वाचित हुनुभएको समाजले आज जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष आचार्यले लोकतान्त्रिक मुलुकको उन्नयनमा सामाजिक तथा आर्थिक सशक्तिकरणको खाँचो रहेको विचार व्यक्त गर्दै विभिन्न लेख, रचना तथा साहित्यका माध्यमबाट समाजलाई दिशानिर्देश गर्न संस्थामार्फत पहल गरिने बताए।

देशका विभिन्न साहित्य, कला र संस्कृति संरक्षण तथा तीनलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले विसं २०६४ मा स्थापना भएको उक्त संस्थाले हालसम्म २७ कृति प्रकाशनमा ल्याइसकेको छ । उक्त समाजले प्रत्येक वर्ष विभिन्न पाँच विधामा स्रष्टालाई पुरस्कार प्रदान गर्दै आएको छ ।