बाग्मती

पुस्तक प्रदर्शनी

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा आयोजित पुस्तक प्रदर्शनीमा अहिलेसम्म करीब रु चार लाखको पुस्तक बिक्री भएको छ ।

गत भदौ १९ देखि यही असोज १९ गतेसम्म प्रतिष्ठानको परिसरमा सञ्चालन गरिएको उक्त प्रदर्शनीमा प्रतिष्ठानद्वारा विभिन्न समयमा प्रकाशित पुस्तक बिक्री भएको हो । प्रदर्शनीमा दर्शन, इतिहास, कथा, निबन्ध, कविता, ज्योतिष, गणित, धार्मिकलगायत विधाका करीब ४०० प्रकारका पुस्तक समावेश गरिएको छ । प्रतिष्ठानले विभिन्न लेखकका राम्रा कृतिलाई पछिल्लो समयमा अङ्ग्रेजीमा अनुवाद गरेर बिक्रीका लागिसमेत राखेको छ ।

नेपाली, संस्कृत, अङ्ग्रेजी भाषामा पुराना र नयाँ पुस्तक प्रदर्शनीमा समावेश गरिएका कारण त्यसको अध्ययनमा अभिरुचि राख्ने विभिन्न उमेर समूहका पाठकले आफूलाई चाहिएको विषयवस्तुका पुस्तकबारे जानकारी लिने र खरीद गर्ने गरेको पाइएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाका विभिन्न कृति, राष्ट्रकवि माधवप्रसाद घिमिरेका कृति, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीका कृति, ‘सार्क मुलुकका महिला लेखिकाको कथा’ले अधिकांश पाठकलाई आकर्षित गरेको पाइएको छ ।

प्रतिष्ठानले प्रकाशनमा ल्याएको बृहद् शब्दकोशमा रहेका शब्द र अर्थलाई अङ्गेजीमा अनुवाद गरिएको प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशसमेत बिक्रीका लागि राखिएको प्रदर्शनीका संयोजक सुधिर ढुङ्गेलले जानकारी दिए । स्वदेशी तथा विदेशी ख्यातिप्राप्त साहित्यकारका महत्वपूर्ण कृतिलाई अङ्ग्रेजी र नेपाली भाषामा अनुवाद गरेर देश विदेशमा प्रवद्र्धन गर्ने नीति प्रतिष्ठानले लिएको छ । प्रतिष्ठानले त्यहाँ राखिएका विभिन्न पुस्तकमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।