बाग्मती

श्रम छाडेर विद्यालय जान थाले बालबालिका

रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नं ९ का ११ वर्षीय विपिन शर्मा केही वर्ष अघिसम्म दाजु विपुलसँगै सडकमा बदाम बेच्थे । आमा विष्णु शर्मा कुखुराको खोरमा काम गर्थे । त्यही दुई बालक र आमाको कमाइले दैनिकी चल्थ्यो ।

श्रीमान्ले अर्को बिहे गरेर हिँडेपछि दुई बालबालिकाको पालनपोषण र शिक्षा दिने जिम्मेवारी विष्णुकै थियो । त्यसैले उनलाई दैनिकीको जोहो गर्न रातदिन भौंतारिनुपथ्र्यो ।

रत्ननगर उद्योग वाणिज्य सङ्घको बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रममार्फत परिवारलाई दिइएको सहयोगले शर्माको पारिवारिक अवस्था अहिले फेरिएको छ । दुई बालक विद्यालय जान थालेका छन् भने आमा विष्णुले किराना पसलबाट राम्रो आम्दानी लिन थालेका छन्. । त्यो बेलाको सकसको जीवन सम्झँदा अझै कहाली लाग्ने उनी बताउँछन् ।

शुरुमा उनीहरुलाई सङ्घले एउटा घुम्ती पसल, केही किराना सामग्री र सहकारीमा रु ३ हजार राखेर खाता खोलिदिएको थियो । त्यसैबाट बढाएर विष्णुले रत्ननगर नगरपालिका ९ मा तरकारी, फलफूल, पाउरोटीसहितको किराना पसल चलाए ।

त्यही पसलको आम्दानीले ८ र ९ कक्षामा पढ्ने छोराहरुको खर्च धानिएको छ । कोठाभाडा र घरखर्च त्यही पसलबाट चल्छ । उनको दैनिक नाफा नै रु ५०० देखि एक हजार ५०० सम्म हुन्छ ।

काम गर्न सजिलो छ । तरतरी पसीना चुहाउनु पर्दैन । पहिलो जस्तो पैसाको सकस छैन । बचत गर्र्ने बानीको विकास भएको छ । “बिहान म सामान किन्न जान्छु, छोराहरुले दोकान हेर्छन्, दिउँसो छोराहरु विद्यालय जान्छन्, मैले दोकान हेर्छु,” विष्णु शर्माले हाँस्दै भने।

रत्ननगरकै मोनिका विकले विद्यालय छाडेको पत्ता लागेपछि उनको परिवारलाई समेत सङ्घले सिलाइ मेसिन दिएर बच्चालाई श्रमबाट छुटायो । मोनिका नियमित विद्यालय जान्छिन् भने आमा सजना कपडा सिलाएर मज्जाले आम्दानी गर्न हुन्छ ।

गएको तीजमा मात्रै सातहजार ५०० रुपैयाँ सजनाले कमाएको सहकर्मी शर्मिला विकले बताइन् । कपडा सिलाइबाट आएको पैसा सजना र शर्मिलाले आधाआधा बाँड्ने गरेका छन् ।

अर्थाभावका कारण रत्ननगरका गुञ्जमान चेपाङकी छोरी सिया चेपाङ अर्काको घरमा घाँस काट्न जान्थिन् । सचेतना कार्यक्रमसँगै गुञ्जमानलाई चार वटा बाख्रा सहयोग गरेपछि छोरीको पढाइ नियमित भयो । आयआर्जनका काममा परिवार पनि सक्रिय हुन थालेका छन् ।

बाख्राबाट परिवारले आम्दानी गर्ने गरेको र सिया पनि नियमित विद्यालय जान थालेको उक्त कार्यक्रमका सामाजिक परिचालक सन्तोष रेग्मी बताउँछन् ।

उनीहरु प्रतिनिधि पात्र मात्रै हुन् । परिवारमा दिइएको सहयोगका कारण श्रमिक बालबालिकाहरु विद्यालय जान थालेका छन् । यसरी श्रम गर्न बाध्य ९५ जना बालबालिकालाई पारिवारिक मिलन गराई विद्यालयमा भर्ना गरिएको उक्त कार्यक्रमका संयोजक दीपककुमार कर्माचार्य बताउँछन् ।

बालबालिकालाई शैक्षिक सामग्री दिइन्छ भने उनीहरुका अभिभावकहरुलाई सीप र रुचीअनुसारको सहयोग गर्ने गरिएको छ जसमा सिलाइ मसिन, रिक्सा, ठेलागाडा, किराना सामग्री पर्छन् । बँगुर, पाडी, बाख्रा, कुखुरा र माछापालन गर्नमा पनि सहयोग गरिएको छ ।

युनिसेफ नेपालको सहयोग तथा रत्ननगर नगरपालिकाको समन्वयमा रत्ननगर उद्योग वाणिज्य सङ्घले बाल संरक्षण तथा बाल श्रम न्यूनीकरण कार्यक्रम २०७० सालदेखि शुरु गरेको हो ।

आर्थिक अवस्था कमजोर, गलत साथी संगत र पारिवारिक कलहका कारण यसरी बालबालिकाहरु श्रममा आउन बाध्य भएको सर्वेक्षणले पुष्टि गरेको कार्यक्रम व्यवस्थापक रोजिना श्रेष्ठ बताउँछन् ।

“अर्थाभाव नै मुख्य कारण रहेछ, त्यसैले परिवारलाई सहयोग कार्यक्रम ल्याएका हौं,” श्रेष्ठले भने – “आयआर्जन राम्रो हुन थालेपछि श्रम छाडेर बालबालिकाहरु स्कुल जान थालेका छन् ।” उनका अनुसार परिवारलाई सचेतनामूलक कार्यक्रममा समेत सहभागी गराएको फलस्वरुप बालबालिकाहरु विद्यालय नियमित जान थालेका छन् ।

विसं २०७० सालमा सर्वे गर्दा रत्ननगरमा विद्यालय छाडेकासहित गरेर ९०३ जना बालबालिका भेटिएका थिए । विसं २०७३ सालमा बेसलाइन सर्वे गर्दा श्रममा लागेका बालबालिकाको सङ्ख्या ४२९ जना भेटिएको थियो ।

अहिले २०७५ सम्म आइपुग्दा सङ्घले उक्त कार्यक्रममार्फत ५३७ जनालाई श्रमबाट छुटाएर आवश्यक सहयोग उपलव्ध गराई विद्यालय पठाएको र उमेर पुगेकाहरुलाई विभिन्न पेशामा आबद्ध गराएको व्यवस्थापक श्रेष्ठ बताउँछन् ।

पछिल्ला दिनमा केही श्रमिकहरु थपिएका छन् । उनीहरुलाई समेत श्रमबाट छुटाएर परिवारमा मिलन गराउने र विद्यालय पठाउने योजना कार्यक्रमको छ । पछिल्ला चरणमा भने जनप्रतिनिधिहरुको सहयोग र सचेतना बढेकाले बालश्रमको सङ्ख्या घट्दो क्रममा रहेको दावी सङ्घको छ ।

संघका अनुसार २५० जना बालबालिकालाई शैक्षिक र व्यावसायिक परामर्श दिइएको छ । यसैगरी, १५५ बालबालिकालाई शैक्षिक सामग्री दिइएको छ भने ११५ जनालाई व्यावसायिक तालीम तथा ९५ जनालाई परिवारमा मिलन गराई विद्यालय भर्ना गरिएको छ । रत्ननगर नगरपालिका अहिले बालमैत्री नगर बनाउने अभियानमा अघि बढेको छ । रत्ननगरको वडा नं ३ बालमैत्री वडा घोषणा भइसकेको छ भने असोज ५ गते रत्ननगर ५ लाई घोषणा गरिएको छ । अन्य वडाहरुलाई पनि क्रमिक रुपमा बालमैत्री घोषणा गरिँदै छ ।