कृषि

कैलालीमा पहिलो पटक व्यावसायिक पुष्पखेतीको थालनी

लम्की । कैलालीमा पहिलो पटक व्यावसायिक पुष्पखेती शुरु गरिएको छ । टीकापुरका सीताराम चौधरीले १० कट्ठा जमीनमा सयपत्री फूलको व्यावसायिक खेती थालेका हुन् ।

चौधरीले चितवनको पाख्रिन नर्सरीबाट ११ हजार बेर्ना ल्याई पुष्पखेती गरेका हुन् । उनले प्रतिबिरुवा रु पाँचमा खरीद गरेका हुन् । “थप जग्गा भाडामा लिई अन्य जातका फूलको खेती गर्ने योजना छ,” उनले भने । गत साउन दोस्रो साता लगाएको फूलको बिरुवाबाट ४५ दिनमै फूल बिक्री गर्न थालेको चौधरीले बताए ।

“एउटा बोटबाट तीनदेखि पाँच माला बनाउन सकिन्छ,” चौधरीले भने । एउटा माला रु ६० देखि रु ८० सम्ममा बिक्री भइरहेको छ । तरकारीभन्दा फूल बिक्रीबाट बढी आम्दानी गर्न सकिने उनी बताउँछन् । टीकापुरसहित जानकी, लम्की, भजनी, जोशीपुरलगायतका क्षेत्रका बासिन्दा फूल किन्न आउने गरेका छन् । “एक सातामा ३०० जति माला बिक्री हुन्छ,” चौधरीले भने ।

चौधरीले रु एक लाख २५ हजारको लागतमा पुष्पखेती गरेका हुन्। बिरुवाबाट चार महीनामा रु चार लाखसम्म आम्दानी गर्न सकिने उनी बताउँछन् । पुष्पखेतीबाट मनग्य आम्दानी गर्न सकिनेमा उनी ढुक्क छन् । बजारको सम्भावना देखेर जग्गा भाडामा लिई पुष्पखेती गर्ने सोच उनले बताए ।

“यहाँ उत्पादन भएको फूल स्थानीयस्तरमै खपत भइरहेको छ,” चौधरीले भने। टीकापुरलगायत यस क्षेत्रका साना ठूला बजारमा हुने विभिन्न कार्यक्रमका लागि टीकापुरबाटै सयपत्री फूल खरिद गर्न थालिएको छ । “यस क्षेत्रमा पहिलो पटक पुष्पखेती शुरु गरिएको हो,” टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पर्शुराम चपाईले भने, “दैनिक ५० देखि १०० मालासम्म खपत हुन्छ, बजारमा माग बढ्दै गएको छ ।” यसअघि फूल भारतबाट आयात गरिँदै आएको थियो ।

टीकापुरमा खपत नभएको फूल काठमाडौँ पठाउने गरिएको छ । सयपत्री फूल टिपेपछि आठ/दश दिनसम्म बिग्रिदैन । फूल उत्पादनदेखि प्याकेजिङसम्मको तालीम लिएका चौधरी फूल उत्पादक सङ्घमा समेत आबद्ध छन् । कैलालीमा बाह्रैमास फूल उपलब्ध गराउन उनले पुष्पखेती विस्तारको योजना बनाएका छन् । फूल उत्पादक सङ्घसँग मिलेर अन्यत्रबाट फूल ल्याउने तयारीमा समेत चौधरी छन् ।

कृषि सेवा केन्द्र टीकापुरका प्रमुख गौरीशङ्कर गुप्ताले नयाँ व्यवसायका रुपमा पुष्पखेती शुरु गरिएको बताए । “व्यावसायिक रुपमा पुष्पखेती सम्भवतः प्रदेश नं ७ मै पहिलो हो, केन्द्रले प्राविधिक ज्ञान निःशुल्क रुपमा दिने गरेको छ,” उनले भने ।