स्वास्थ्य

मेचीनगरमा सोह्र नयाँ कुष्ठरोगी फेला

भद्रपुर । मेचीनगर नगरपालिकामा १६ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । नगरले कुष्ठरोगीको खोजी गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउन थालेपछि नयाँ बिरामी धमाधम फेला पर्न थालेका हुन् ।

नगरपालिकाको स्वास्थ्य शाखा संयोजक शशीकला राईले स्वास्थ्यकर्मीहरु कुष्ठरोगी खोज्दै गाउँगाउँ पस्न थालेपछि नगरका विभिन्न वडामा १६ जना नयाँ रोगी फेला परेको बताए । संयोजक राईका अनुसार वडा नं १० को धुलाबारी क्षेत्रमा मात्र सातजना रोगी फेला परेका छन् । त्यसमध्ये पाँच जनामा खतरनाक एमबी र दुई जनामा सामान्य खालको नसर्ने प्यूसी प्यासीलरी फेला परेको छ ।

वडा नं १४ दुहागढी क्षेत्रमा दुईजना, १५ नं वडाको ज्यामिरगढी आसपासमा तीनजना, बाहुनडाँगी क्षेत्रमा तीनजना र वडा नं ६ मा एकजना गरी १६ जना नयाँ रोगी फेला परेका हुन् ।

स्वास्थ्यकर्मीको टोलीले घरैमा पुगेर फेला पारेका सन्दिग्ध व्यक्तिलाई स्वास्थ्य केन्द्रमा बोलाएर कुष्ठरोग लागेको हो कि होइन भनी यकिन गरेर उपचारको निःशुल्क व्यवस्था मिलाइएको संयोजक राईको भनाइ छ । नगरपालिकाले जेठ २३, २४, २५ र २६ गते घरघरै पुग्नका लागि चार दर्जनभन्दा बढी सङ्ख्यामा स्वयम्सेवी कार्यकर्तालाई तालीम दिएर कुष्ठरोगी खोज्न गाउँगाउँ पठाएको थियो ।

सरकारले सन् २०२० सम्ममा देशभरबाट कुष्ठरोग निवारण गर्ने उद्देश्य राखेको भए पनि तराईका जिल्लामा हरेक वर्ष नयाँ कुष्ठरोगी फेला पर्ने क्रम भने रोकिएको छैन् । झापा जिल्लामा हाल ५०० बढीले कुष्ठरोगको औषधि सेवन गरिरहेको संयोजक राईले बताए ।