समाचार

संयुक्त समितिका सभापति निर्वाचन कार्यक्रम

काठमाडौँ । सङ्घीय संसद् (प्रतिनिधिसभा/ राष्ट्रियसभा) का संयुक्त दुई समितिका सभापतिको निर्वाचन कार्यक्रम आज सार्वजनिक भएको छ ।

ती संयुक्त समितिमा संसदीय सुनुवाइ र राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्व समिति छन् । निर्वाचन यही असोज ७ गते अपराह्न १ : ०० बजे हुने कार्यक्रम छ ।

संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज यहाँ जारी विज्ञप्तिअनुसार निर्वाचन प्रक्रियाअन्तर्गत शनिबार सङ्घीय संसद्को संयुक्त समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को सदस्यले समर्थनसहित प्रस्ताव दर्ता गराउनुपर्नेछ ।

दर्ता गराउने समयसीमा बिहान अपराह्न २ बजेदेखि ५ बजेसम्म निर्धारण गरिएको छ । यसपछि सचिवालयले दर्ता भएका प्रस्तावको दर्ताक्रमानुसार सूची प्रकाशन गर्नेछ । असोज ७ गते आइतबार अपराह्न १: ०० बजेदेखि सम्बन्धित समितिका बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावलाई समर्थन गर्ने र प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिनिधिसभाअन्तर्गत १० विषयगत समितिका सभापतिको निर्वाचन कार्यक्रम आज सम्पन्न भएको थियो । ती दशमध्ये ६ समितिका सभापतिमा महिला सांसद निर्वाचित भएका छन् । प्रतिनिधिसभाअन्तर्गत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति छन् ।

यसैगरी महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास र प्रविधि, शिक्षा र स्वास्थ्य तथा सार्वजनिक लेखा समिति छन् । राष्ट्रियसभाअन्तर्गत चार विषयगत समितिका सभापति चयन प्रक्रिया सम्पन्न भइसकेका छन् । ती समितिमा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् ।