कर्णाली प्रदेश

एक हजार आठ सय परिवार अँध्यारोमै

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका एक हजार ८०० घरपरिवार अँध्यारोमा बस्न बाध्य छन् । वडा नं ७, ८, ९ र १० मा विद्युत् सेवा विस्तार नहुँदा स्थानीयवासी अँध्यारोमा बस्न बाध्य भएका हुन् ।

नेपाल विद्युत् प्राधिकरण वितरण शाखाले विद्युत् सेवा विस्तार नगर्दा चारै वडाका बासिन्दालाई समस्या भएको छ । विजुली नहुँदा बालबालिकाको पढाइलेखाइ तथा घरायसी कामकाजमा समस्या भएको स्थानीयवासी डेम प्रकाश ओली बताउँछन् । गाउँमै उत्पादन गरिएको विद्युत् सेवा पहिरोका कारणव अरुद्ध छ । धेरैजसो ठाउँमा विद्युत्का पोल ढलेका छन् भने तार लथालिङ्ग अवस्थामा छ ।

गाउँका बासिन्दा केन्द्रीय प्रसारणको विद्युत् सेवा उपभोग गर्न पर्खाइमा छन् । विद्युत् प्राधिकरण र ठेकेदारको लापर्बाहीले विद्युत् सेवा विस्तार हुन नसकेको स्थानीयवासी निर्मल चन्द बताउँछन् । यस वर्ष पहिरोले अधिकांश पोलमा क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरण रुकुम वितरण शाखाका प्रमुख दिवकर प्याकुरेल वर्षाका कारण विद्युत् सेवा विस्तारमा ढिलाइ भएको बताउँछन्। वर्षासँगै बोलपत्र आह्वान प्रक्रिया र विद्युत् सामग्री अभावले विद्युत् विस्तारमा समस्या भएको हो । “बाँकी काम वर्षा रोकिएपछि शुरु हुन्छ,” उनले भने ।