समाचार

सार्वजनिक लेखा समितिका सभापतिमा शाह निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका भरतकुमार शाह निर्विरोध निर्वाचित भएका छन् ।
समितिको आजको बैठकमा समिति सदस्य राजेन्द्रकुमार केसीले रुपन्देहीका शाहलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमाथि अर्का सांसद मीना सुब्बाले समर्थन गरेका थिए। सो प्रस्तावलाई बैठकले सर्वसम्मतरुपमा अनुमोदन गरेको छ । समितिको सभापतिका लागि पूर्वअर्थराज्यमन्त्री शाहको एक मात्र उम्मेदवारी परेको थियो । समितिका ज्येष्ठ सदस्य शरत्सिंह भण्डारीले सभापतिको उम्मेदवारीका लागि एक मात्र प्रस्ताव परेकाले शाह निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

बैठकमा ज्येष्ठ सदस्य भण्डारीले शाहलाई बधाई दिँदै समितिको उद्देश्यअनुसार भूमिका निर्वाह गर्न शुभकामना दिए । नवनिर्वाचित सभापति शाहले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संविधान र नियम कानूनअनुसार समितिका कामकारवाही प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधिसभाका १० वटै समितिका सभापति आज निर्विरोध निर्वाचित भएका छन् । दश समितिमध्ये आठ समितिको नेतृत्व प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा एक/एक समितिको नेतृत्व काङ्ग्रेस र सङ्घीय समाजवादी फोरम नेपालले लिएको छ ।