समाचार

जलविद्युत्, कृषि, पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह: उपराष्ट्रपति पुन

काठमाडौँ । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव पेङ छिङुहवाले शिष्टाचार भेट गरेका छन् ।

भेटमा उपराष्ट्रपतिले नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गर्दै सिचुवान प्रान्त र नेपालको सम्बन्ध विशिष्ट रहेको बताए। उनले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको र नेपाली भूमिलाई चीन विरोधी गतिविधि हुन नदिने बताए ।

उपराष्ट्रपतिले चीन र नेपालबीच भएका पछिल्ला सम्झौता र समझदारीले दुई देशबीचको सम्बन्ध परम्परागतभन्दा माथि उठेको बताए । भेटका क्रममा उनले व्यापार तथा पारवाहन सम्झौता, बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा नेपालको सहभागिता र व्यापार तथा पारवाहनसम्बन्धी प्रोटोकलमा भएको सहमतिले दुई देशबीचको सम्बन्ध प्रगाढ भएको र सहकार्य विस्तार भएको बताए ।

उपराष्ट्रपति पुनले नेपाल राजनीतिक स्थायित्व हासिल गरेर आर्थिक समृद्धिको मार्गमा अगाडि बढिरहेको उल्लेख गर्दै नेपालको आर्थिक समृद्धिको यात्रामा चीनको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । उनले नेपालको समृद्धिमा सिचुवान प्रान्तको सहयोग रहने विश्वास व्यक्त गरे । उनले नेपालमा तीन वर्ष पहिले भूकम्प जाँदा सबैभन्दा पहिले सिचुवान प्रान्तका प्रतिनिधि गएर उद्धार र राहतमा सहयोग गरेको स्मरण गराउँदै धन्यवाद दिए ।

उपराष्ट्रपति पुनले नेपालमा लगानीका लागि प्रचुर सम्भावना रहेको उल्लेख गर्दैै लगानीका लागि चीन र सिचुवान प्रान्तलाई आग्रह गरे । नेपालमा जलविद्युत्, कृषि, पर्यटन, जडीबुटी र भौतिक पूर्वाधारको क्षेत्रमा लगानीका लागि आग्रह गरे । नेपालसँग भएको प्राकृतिक स्रोत साधनको उच्चतम उपयोग गर्न चीनसँग भएको प्रविधि, अनुभव र पूँजीको खाँचो रहेको उल्लेख गर्दै उनले दुई देशबीच सहकार्य जरुरी रहेको बताए ।

उपराष्ट्रपतिले सन् २०२० लाई नेपालले भ्रमण वर्षका रुपमा मनाउन लागेको जानकारी गराउनुहुँदै सरकारी प्रयासबाटै चिनियाँ नागरिकमाझ प्रचारप्रसार गरिदिन आग्रह गरे । उनले अहिले नेपालमा सबैभन्दा धेरै भ्रमण गर्ने विदेशी पर्यटकमा चिनियाँ रहेकोसमेत बताए ।

भेटमा सिपिसीका सिचुवान प्रान्तका सचिव पेङले चीन–नेपाल सम्बन्ध विशिष्ट प्रकारको रहेको बताए । उपराष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध विस्तारमा खेलिरहेको भूमिकाका लागि उपराष्ट्रपतिलाई धन्यवाद दिए ।

सचिव पेङले सिचुवान प्रान्त र नेपालको सम्बन्ध ऐतिहासिक रहेको बताए । उनले नेपालको चौतर्फी विकासका लागि सहकार्य गर्न सिचुवान प्रान्त तयार रहेको बताए । उनले नेपाल र सिचुवानको सम्बन्धलाई अझै प्रगाढ बनाउन आवश्यक रहेकामा जोड दिए ।

सचिव पेङले ‘एक चीन नीति’प्रति नेपालको समर्थन, प्रतिबद्धता र व्यावहारिक कार्यन्वयनबाट चीन अत्यन्त खुशी रहेको बताए । उनले नेपालको ‘एक चीन नीति’प्रतिको दृढता दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पु¥याउने राजनीतिक आधार भएको बताए।

नेपालको भ्रमण गर्नेमा सिचुवान प्रान्तका नागरिक अधिक रहेको उल्लेख गर्दै सचिवले नेपालको प्राकृतिक सुन्दरताको अवलोकन गर्न र संस्कृतिको अनुभव गर्न चिनियाँ नागरिक आतुर रहेको बताए । चिनियाँले नेपाल भ्रमणका लागि अत्यन्त रुचि राख्ने बताउँदै उनले अनुकूल समयमा आफूले पनि नेपालको प्राकृतिक सुन्दरताको अवलोकन गर्ने इच्छा व्यक्त गरे।

सचिव पेङले नेपालमा चिनियाँ व्यवसायीले लगानी गरिरहेको स्मरण गर्दै अन्य व्यवसायी पनि नेपालमा गएर लगानी गर्न इच्छुक रहेको बताए । उनले दुई देशबीचको सम्बन्ध सुधार तथा सहकार्यलाई सहज बनाउन छेन्दुमा नेपालले महावाणिज्य दूतावास चाँडै खोल्नुपर्ने बताए। “सम्माननीज्यू नेपाल फर्कना साथ छेन्दुमा महाणिज्य दूतावास खोल्नेमा नेपाल सरकारले निर्णय लिनेमा आशावादी छु”, उनले भने, “महावाणिज्य दूतावास स्थापना भएमा हामीलाई धेरै सहज हुनेछ ।”

सचिव पेङले १७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा गरेको आमन्त्रणा स्वीकारेर उपस्थित हुनुका साथै महत्वपूर्ण सम्बोधन गरेकोमा उपराष्ट्रपतिलाई धन्यवाद दिएको उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

भेटका क्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, उपराष्ट्रपति कार्यालयका सचिव रामप्रसाद आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगायत थिए भने सिचुवान प्रान्तका तर्फबाट सचिवसहित गभर्नर, उपगभर्नर उपस्थित थियो ।

उपराष्ट्रपतिसँग आजै सिपिसीका यिपिन नगर सेक्रेटरी लिउ झोङपोले शिष्टाचार भेट गरेका छन् । उपराष्ट्रपति पुनले आज बिहान छेन्दुमा रहेको २०० वर्ष पुरानो टाँसी मन्दिरको अवलोकन भ्रमण गरेका थिए ।