समाचार

शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा घर्ती

काठमाडौँ । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिका सभापतिमा जयपुरी घर्ती निर्विरोध निर्वाचित भएकी छिन् । समितिको आजको बैठकले उनलाई सर्वसम्मतरुपमा सभापतिमा निर्विरोध चयन गरेको हो ।

घर्तीको उम्मेदवारीको प्रस्तावकमा योगेशकुमार भट्टराई र समर्थकमा अन्जना बिशङ्खे रहेका थिए । समितिको ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माको अध्यक्षतामा आज समितिको बैठक बसेको थियो ।

बैठकमा प्रस्तावक सांसद भट्टराईले कुशल र परिपक्व राजनीतिक नेतृत्व समितिको सभापतिका रुपमा घर्तीलाई पाएको बताए । प्रस्तावकका समर्थक सांसद बिशङ्खेले नेपाली राजनीतिमा शालीन व्यक्तित्वका रुपमा सभापति घर्ती परिचित हुनुहुन्छ भने ।