स्वास्थ्य

जनशक्ति अभावले अस्तव्यस्त बन्दै बेनी अस्पताल

म्याग्दी । एक महिनाअघि बागलुङको धौलागिरि अञ्चल अस्पतालले गण्डकी अस्पताल पोखरा सिफारिश गरेको सुत्केरी व्यथाले च्यापेकी महिलाको शल्यक्रियामार्फत आमा र बच्चाको ज्यान जोगाएकामा म्याग्दीको बेनी अस्पतालको प्रशंसा निकै भयो । नहोस् पनि किन ? बागलुङ, पर्वत हुँदै कास्कीको सिमानासम्म पु¥याइएकी बिरामी सरस्वती जिसीलाई पहिराले सडक अवरुद्ध बनेपछि फर्काएर बेनी अस्पतालमा शल्यक्रिया गराउनुपरेको थियो ।

यो एक प्रतिनिधिमूलक उदाहरण हो, बेनी अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवाको । पछिल्लो समय देशभरका जिल्ला अस्पतालहरुको सेवा प्रवाहमध्ये उत्कृष्ट सेवा दिने अस्पतालको रुपमा बेनी अस्पतालको नाम माथि नै छ । शल्यक्रियामार्फत हुने जटिल प्रसूतिलगायतका शल्यक्रिया सेवाहरुसमेत प्रवाह हुँदै आएको यस अस्पताल यतिबेला भने जनशक्ति अभावले अस्तव्यस्त बन्न थालेको छ । अस्पताल प्रशासनिक र व्यवस्थापकीय नेतृत्व तथा चिकित्सकको अभावमा ‘अभिभावकविहीन’को अवस्थामा पुगेको छ ।

एक महिनादेखि अस्पताल विकास समिति नेतृत्वविहीन छ भने अस्पतालका प्रमुख डाक्टर रोशन न्यौपानेको समेत २ महिनाअघि सरुवा भएपछि बेनी अस्पताल व्यवस्थापकीय र प्रशासनिक नेतृत्वविहीनको अवस्थामा पुगेको हो । प्रदेश सरकारले अस्पतालको व्यवस्थापनका लागि संयन्त्र तयार गर्न नसक्नु र कार्यालय प्रमुखलगायतका कर्मचारीहरुको रिक्तता पूर्ति नगर्दा सेवा प्रवाह फितलो बन्न थालेको गुनासो बढेको छ । अस्पतालमा सेवा लिन जाँदा जिल्लामै उपलब्ध हुने स्वास्थ्य सेवा लिनसमेत ‘रेफर’ भएर पोखरा जानुपर्ने बाध्यता हुन थालेको बेनी नगरपालिका–९ गलेश्वरका युवा दीपक कार्कीले बताए ।

“अस्पतालमा अस्तव्यस्त बन्न थालेपछि उपचारका लागि पोखरा, काठमाडौँ, चितवन जानुपर्ने समस्या बढेको छ,” कार्कीले भने – “नेतृत्वको अभावमा अस्पताल मियो बिनाको दाइँ हालेजस्तो बनेको छ ।” बेनी अस्पतालमा म्याग्दीसँगै पर्वतको जलजला गाउँपालिका, मुस्ताङ र बागलुङको पश्चिम क्षेत्रका नागरिकहरु उपचार गराउन आउँछन् । गत वर्ष तीस हजार जनाले विभिन्न प्रकृतिका सेवा लिएका अस्पतालको तथ्याङ्क छ ।

मेडिकल अधिकृत भूषण कुमार सुवेदी अस्पतालको निमित्त प्रमुखको जिम्मेवारीमा रहे पनि अस्पतालको प्रमुख डाक्टरमा मन्त्रालयले कसैलाई नखटाएका कारण आर्थिक कामकार्वाही प्रभावित बनेको छ । तीन वर्षअघि पचास शय्यामा स्तरोन्नति भएको यस अस्पतालमा चार जना मेडिकल अधिकृत, दश जना विशेषज्ञ र एक जना दन्त चिकित्सकको दरबन्दी छ ।

हाल दुई मेडिकल अधिकृत र एक विशेषज्ञ चिकित्सक मात्र कार्यरत रहेको मेडिकल अधिकृत विराट शर्माले बताए । मेडिकल अधिकृत अम्बालिका शाक्य र हेमा जोशी अध्ययन बिदामा छन् । हालै स्वास्थ्य मन्त्रालयबाट सरुवा भएका तीन जना चिकित्सकले काज मिलाएर पोखरा बसेका अस्पताल प्रशासनले जनाएको छ । एक जना रेडियोलोजिस्ट एक दिन आएर हाजिर गरे पनि त्यसपछि कहाँ गए भन्ने अत्तोपत्तो हुँदैन ।

सेवा प्रवाह फितलो

नेतृत्वविहीन र जनशक्तिको अभावमा सेवा प्रवाहमा कठिनाइ भइरहेको अस्पतालका मेडिकल अधिकृत शर्माको कथन छ । “बिरामी जाँच्ने कि प्रशासनिक काम गर्ने ?” शर्माले भने – “बिरामीको उपचार गर्नुपर्नेमा बैठक, प्रशासनिक काम र तालीम जस्ता औपचारिक तथा प्रशासनिक काममा अल्झनुपर्दा समस्या भएको छ ।”

अस्पतालको सेवा प्रवाहबारे जनगुनासा बढिरहेको र सेवा प्रवाहमा समेत समस्या उत्पन्न भएपछि प्रदेशको विभागीय मन्त्री र सङ्घीय मन्त्रालयमा जानकारी गराइएको उनले बताए । अस्पतालमा कार्यरत केही मेडिकल अधिकृतहरुसमेत सरुवा भएर जाने तरखरमा छन् ।

जनप्रतिनिधिहरुको पहल

अस्पतालको सेवा प्रवाहबारे गुनासा बढेपछि जिल्लास्थित सरोकारवालाहरुले अस्पतालको समस्या समाधानका लागि पहल थालेका छन् । सामाजिक अगुवा, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, गण्डकी प्रदेशका सांसद विनोद केसी, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी लगायतले हालै बेनी अस्पतालमा पुगेर सेवा प्रवाहको अवस्थाबारे अध्ययन गरेर प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनलाई जानकारी गराएका थिए ।

सामाजिक विकास मन्त्री पुनले सङ्घीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीहरुको असहयोगी व्यवहारका कारण अस्पतालहरुमा दरबन्दी अनुसारका चिकित्सक र उपकरणको व्यवस्था मिलाउने योजना कार्यान्वयनमा समस्या आएको बताए । उनका अनुसार व्यवस्थापन समिति गठनको तयारी भइरहेको र कार्यालय प्रमुख तथा दरबन्दी अनुसारका चिकित्सकको व्यवस्था मिलाउन तदारुकताका साथ काम अघि बढाइएको छ ।

यो क्षेत्रमै अब्बल अस्पतालको रुपमा पहिचान बनाइसकेको बेनी अस्पतालमा एकैपटक कार्यालय प्रमुखको सरुवा हुनु र विकास समिति नेतृत्वविहीन हुनुले समस्या सिर्जना गरेको हो । जिल्लास्थित स्वास्थ्य चौकीहरुमा रहेका जनशक्तिलाई समेत पुलको रुपमा ल्याएर खटाउने र अस्पतालको सेवालाई तत्कालका लागि मजबुत बनाउने गरी छलफल भइरहेको प्रजिअ अधिकारीले जानकारी दिए।