गण्डकी प्रदेश

साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना

मुस्ताङ । नेपाल सरकारले हिमाली पर्यटकीय जिल्ला मुस्ताङमा साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ । घरपझोङ गाउँपालिका–२ मार्फामा बिहीबार शुरु भएको ‘४८औँ थाक खेलकूद प्रतियोगिता’ उद्घाटन कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले मुस्ताङमा हाइ अल्टिच्युड र साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।

“खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएअनुसार कार्यान्वयन प्रक्रिया अघि बढेको छ”, मन्त्री विश्वकर्माले भने, “ यसका लागि स्थानको सम्भाव्यता अध्ययन भइरहेको छ ।” उनले मुस्ताङमा थातथलो भएका थकाली समुदायको ‘आर्चरी खेल’ प्रर्वद्धनमा सरकारले प्राथमिकता दिने प्रतिबद्धता जनाए।

प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले मुस्ताङको खेलकूद र सँस्कृति संरक्षणमा थाक खेलकूद प्रतियोगिताले उल्लेखनीय भूमिका निर्वाह गरेको बताए ।

उक्त प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला भलिबल, आर्चरी, मिस मुस्ताङ, थकाली भाषामा गीत र नृत्यको प्रतियोगिता गरिने थाक खेलकूद विकास सङ्घका अध्यक्षसमेत रहनुभएका प्रदेश सांसद चन्द्रमोहन गौचनले जानकारी दिए।

प्रदेश सांसद महेन्द्रबहादुर थकाली, इन्द्रधारा बिष्ट, जिसस प्रमुख छिरिङल्यामु गुरुङलगायत स्थानीय तहका प्रमुखको सहभागिता रहेको उक्त कार्यक्रममा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।

सबै प्रतियोगितामा मुस्ताङका आठ क्लबले सहभागिता जनाएका छन् । पुरुष भलिबलको उद्घाटन खेलमा साविक विजेता निर्मल स्पोर्सट क्लब लेतेले जनकल्याण युवा क्लब स्याङलाई पराजित गरेको थियो ।

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजयी हुनेले रनिङ शिल्डसहित नगद पुरस्कार प्राप्त गर्नेछन् । सोही अवसरमा घरपझोङ गाउँपालिकाले कृषि मेला प्रदर्शनीको समेत आयोजना गरेको छ ।

अस्थायी टहरा निर्माण

रघुगङ्गा नदीमा आएको बाढीले कटान गरेर भवन बगाएको रघुगङ्गा गाउँपालिका–८ दुलेखर्कस्थित रितुङ माविको अस्थायी टहरा निर्माण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट विद्यार्थीले श्रमदान गरेर उक्त टहरा निर्माण गरेका हुन् ।

जङ्गलको काठ र त्रिपाल प्रयोग गरेर चार अस्थायी कक्षाकोठा निर्माण गरिएको विद्यार्थी नेता प्रकाश पौडेलले जानकारी दिए । बेनीबाट पौडेलको नेतृत्वमा गएका १५ विद्यार्थी, स्थानीयवासी र युवा क्लबका पदाधिकारीले संविधान दिवसका अवसरमा टहरा निर्माणका लागि श्रमदान गरेका थिए ।

भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीले रितुङ माविको तीन भवनको र शौचालय बगाएको थियो । भवन बगाएपछि दुई हप्ताका लागि बन्द भएको पठनपाठन सञ्चालन गराउन अस्थायी टहरा निर्माण गरिएको हो । कक्षा १० सम्मको पठनपाठन हुने उक्त विद्यालयमा १७५ विद्यार्थी अध्ययनरत छन् ।

यसैबीच बाढी र पहिरो प्रभावित दुलेखर्क, खरिबोट, घ्याँसीखर्क, दुवाडी क्षेत्रको स्थलगत अनुगमन र स्थानीयवासीको समस्याका बारेमा जानकारी लिन प्रदेश सांसद बिनोद केसीको टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ । सांसद केसी, जिसस प्रमुख देवेन्द्र केसी, वडाध्यक्ष गमान छन्त्याल, जिल्ला शिक्षा तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापाको टोली जिल्ला विपद् व्यवस्थापन समितिको राहतसहित कुइनेमङ्गलतर्फ गएको हो ।

सहकारीद्वारा कोषलाई दुई लाख सहयोग

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले गरीब विपन्न म्याग्देलीको उपचारमा सघाउने उद्देश्यले स्थापना गर्न लागेको अक्षयकोषमा कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाले बिहीबार रु दुई लाख सहयोग गरेको छ ।

सहकारीको स्थापना दिवस, नवौँ वार्षिक साधारणसभा र तेस्रो अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष तथा बेनपा–७ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ र अध्यक्ष राजेश शाक्यले कोषका कोषाध्यक्ष खम थापालाई रु दुई लाख नगद हस्तान्तरण गरे ।

मुटु, मृगौला, क्यान्सरलगायत जटिल रोगबाट थलिएर आर्थिक अभावका कारण उपचारबाट बञ्चित म्याग्देलीलाई सघाउने उद्देश्यले उक्त कोषले रु एक करोड ५० लाखको अक्षयकोष स्थापना गर्ने तीन वर्षदेखि सञ्चालन गरेको अभियानमा हालसम्म रु ५० लाख सहयोग जुटेको कोषले जनाएको छ ।

कोषले आजीवन सदस्यका लागि रु पाँच हजार, संरक्षक सदस्यका लागि रु दुई लाख र संस्थापक संरक्षक सदस्यका लागि रु तीन लाख शूल्क तोकेकामा हालसम्म १९ जनाले सहमति जनाएका छन् ।

हाइपो प्लास्टिक एनिमिया रोगबाट थलिएर उपचारका क्रममा दिवङ्गत भएकी बेनपा–४ की ओमकुमारी पुन (शान्ति) को स्मृतिमा स्थापित कोषले विभिन्न रोगबाट थलिएका ५० भन्दा बढीलाई करीब एक करोडको हाराहारीमा सहयोग गरेको जनाएको छ ।