पर्यटन/संस्कृति

पर्यटकीय गन्तव्य बन्दै नुवाकोटगढी

रुपन्देही । पाल्पा र रुपन्देही जिल्लाको सिमानामा पर्ने ऐतिहासिक नुवाकोटगढी पर्यटकीय क्षेत्रको रूपमा विकाशित हुन थालेको छ ।
बुटवलको अत्याधिक गर्मी वा जाडो मौसम छल्न नुवाकोटको मौसम अनुकूल भएकाले पनि सो क्षेत्रमा पर्यटकीय आकर्षण बढ्दै गएको हो ।
बुटवलबाट उत्तर ११ किलोमिटरको दूरीमा पर्ने नुवाकोटमा निजी क्षेत्रले पर्यटन पूर्वाधारका ठूला आयोजनामा लगानी गरिरहेका छन् । गर्मी र जाडो मौसमका लागि अनुकूल र रमणीयस्थल भएकाले व्यवसायी यहाँ लगानी गर्न हौसिएका हुन् ।

वनभोज खान जाने आन्तरिक पर्यटकको सङ्ख्या बढेपछि यहाँ पर्यटनको सम्भावना देखेर बुटवलका ठूला व्यवसायीको आकर्षण बढेको छ । दिनभर बुटवलमा व्यवसाय गरेर साँझ फर्कने गरी विश्रामस्थल बनाउने गरी बुटवलका उद्योगी व्यवसायीको यस क्षेत्रमा आकर्षण बढेको हो ।

बुटवलका प्रतिष्ठित १०० भन्दा बढीले नुवाकोटमा जग्गा किनिसकेको नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले जानकारी दिए। नेपालले पछिल्ला वर्ष नुवाकोटमा जग्गा किन्ने र लगानी गर्न चाहनेको सङ्ख्या बढेको बताए ।

लगानी गर्न चाहनेको सङ्ख्या बढेपछि विकास समितिले यसको व्यवस्थित गुरुयोजना निर्माणका लागि पहल थालेको छ । यहाँ विश्रामस्थल र घरबासको रूपमा घर निर्माण गर्ने योजना छ । नुवाकोटमा निर्माण हुने घरमा काठ मात्र प्रयोग गर्ने, एउटै डिजाइनमा निर्माण गर्ने, एउटै कलर बनाउने र दुई तलाभन्दा अग्लो बनाउन नमिल्ने मापदण्ड बन्दैछ । यो मापदण्डलाई ध्यानमा राखेर गुरुयोजना निर्माणको काम भइरहेको अध्यक्ष नेपालले बताए ।

केबलकार सञ्चालन हुने

यहाँ होटल, रेष्टुरेन्ट, रिसोर्ट, भ्यूटावरसमेत निर्माणका क्रममा छन् । आगामी दुई वर्षभित्रै बुटवलबाट यहाँसम्म पुग्ने केबलकार सञ्चालनमा आउने भएको छ । जम्मा १ दशमलब ७ किलोमिटर लामो केबलकार निर्माणका लागि साउन २९ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अनुमति दिने निर्णय गरेको थियो । त्यसलगत्तै वन तथा भूसंरक्षण विभाग र सिद्धार्थ केबलकार प्रालिबीच सम्झौता भएको प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिए।

व्यवसायीले गुरुयोजनाअनुसार भौतिक संरचनाको विकास गर्नुपर्ने भन्दै सडक, खानेपानी, नुवाकोटगढीको उत्खननलगायतका कामलाई समेत प्राथमिकता दिएका छन् । यहाँ विकासका सामान्य पूर्वाधार तयार छन् । यहाँ प्रदेश ५ सरकारले सांस्कृतिक डबली निर्माणका लागि रु दुई करोड बजेट छुट्याएको छ ।

बुटवल उपमहानगरपालिकाको वडा नं १३ बेलवासदेखि नुवाकोटसम्मको सडक विस्तार र कालोपत्रे गर्ने काम पनि तीव्रगतिमा भइरहेको छ । एक वर्षभित्र सडक निर्माण सम्पन्न हुने गरी रु ३० करोडको लगानीमा सडक निर्माण भइरहेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । सडक निर्माण पूरा भएपछि सिद्धबाबा क्षेत्रको जोखिम छल्न सिद्धार्थ राजमार्गमा चल्ने सवारी साधनले समेत यो सडकलाई वैकल्पिक सडकको रूपमा प्रयोग गर्नेछन् ।

नेपाल–अङ्ग्रेज युद्धमा नेपाली वीरले अङ्ग्रेजलाई पराजित गरेको ऐतिहासिक जीतगढी किल्लाको सहायक गढी र गौतम बुद्धका पिता शुद्धोधनका गुरु ऋषि कालदेवलको आश्रमस्थलका लागि नुवाकोट प्रसिद्ध छ ।

समितिको पहलमा स्थनीय मोटरेवल सडक तथा पैदलमार्ग विस्तार गरिएका छन् । नुवाकोटस्थित भगवती मन्दिर, भैरव कामना मन्दिर, खड्ग मन्दिर, राजा मणिमुकुन्द सेनको ग्रिष्मकालीन दरबारको भग्नावशेष, तोपाहान क्षेत्र, खरखजाना घर, राजा शुद्धोधनका गुरु ऋषि कालदेवल (आशुतोष) को आश्रमस्थल, ऐतिहासिक रानीकुवाको संरक्षणका लागि गुरुयोजनाको प्रस्ताव अघि सारिएको छ ।

ऐतिहासिक नुवाकोटगढीको अध्ययन, अवलोकन, बुटवलसहित तराइको समथर फाँट, माछापुच्छे हिमालको अवलोकन र गाउँले बसाइको अनुभूतिका लागि नुवाकोटमा पर्यटक आउने अपेक्षा छ । यहाँ अहिले दैनिक १०० बढी आन्तरिक पर्यटक वनभोज, क्याम्प फायरिङ तथा घुमफिरका लागि आउन थालेका छन् ।
नेपाल–अङ्ग्रेज युद्धमा नेपाली फौजले विजय प्राप्त गरेको महत्वपूर्ण ऐतिहासिक किल्लासमेत रहेको यो स्थानमा पर्यटनको राम्रो सम्भावना रहेकाले व्यवसायी पिएल श्रेष्ठ बताउँछन् ।
बुटवलको फूलबारीदेखि तीन किलोमिटरको पैदलयात्रामा यहाँ पुग्न सकिन्छ । मोटरबाटोको प्रयोग गर्दा १३ किलोमिटर दूरी पार गर्नुपर्छ । मणिमुकुन्द सेन उद्यान नजिकैबाट नेपाली सेनाको सहयोगमा यहाँ पुग्ने ट्रेकिङ रुट निर्माण गरिएको छ । घना जङ्गलको बीचबाट निर्माण गरिएकाले मोटरबाटो पनि निकै रमणीय छ । जङ्गलमा निगाली बाघ, हरिण, मृग, बँदेल, मयुरलगायतका जनावर तथा पंछी प्रशस्त भेटिन्छन् ।

नुवाकोट जङ्गल सफारी गर्न, वन्यजन्तुहरु हेर्न, गर्मी वा जाडो छल्न र तराइको समथर भूमि एकैचोटी अवलोकन गर्न निकै उपयुक्त र रमणीयस्थल मानिन्छ । पुरातात्विक विषयमा अध्ययनकर्ताका लागि समेत नुवाकोट फरक गन्तव्य बन्न सक्नेछ ।