बाग्मती

सशस्त्र प्रहरी बलको गुल्म स्थापना

बेत्रावती । नुवाकोटमा सशस्त्र प्रहरी बल नेपाल, गुल्म हेडक्वाटर नं १९ को कार्यालय स्थापना गरिएको छ । नेपाल सरकारले सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने निर्णयानुसार जिल्लास्तरीय कार्यालयको रूपमा विदुरमा गुल्म हेडक्वाटरको नं १९ कार्यालय स्थापना भएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए ।

गुल्ममा तत्कालका लागि सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १६० जनशक्ति रहने भएको छ । साविक भूसंरक्षण कार्यालय वन कार्यालयमा गाभिएपछि त्यहाँ रहेको नयाँ भवनसहित आसापासका करीब २०० रोपनी जग्गामा कार्यालय स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको उक्त कार्यालयका प्रमुख तथा सप्रनाउ निरञ्जन भण्डारीले जानकारी दिए ।

कार्यालय स्थापना भएसँगै समुदायमा शान्ति स्थापनार्थ गस्ती, आतङ्कवादी गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन, लागूऔषधलगायत अवैध सामग्री नियन्त्रण, रसुवागाढी नाका हुँदै चीनसँग जोडिएको गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गको सुरक्षा मजबुत बनाउनेजस्ता काममा आफूहरू सक्रिय हुने उनले बताए। जिल्लामा यसअघि सशस्त्र प्रहरी बलको कार्यालय नहुँदा काठमाडौँस्थित कीर्तिपुरबाट रेखदेख हुँदै आएको थियो ।