खेलकुद

‘फुटसल’ खेल व्यावसायिकरुपमा सञ्चालन

धनगढी । आजदेखि यहाँ व्यावसायिकरुपमा ‘फुटसल’ खेल शुभारम्भ गरिएको छ । ल्फ्याट ल्याण्ड रिक्रेस हब प्रालि धनगढीमा आबद्ध युवाको संयुक्त पहलमा व्यावसायिकरुपमा यो खेल शुभारम्भ गरिएको हो । यो खेलको व्यवसाय सञ्चालन गर्न धनगढीको वनदेवि रोड छेउमा जग्गा भाडामा लिएर रु ६६ लाखको लागतमा इन्डोरसहितको फुटसल कोर्ट निर्माण गरिएको छ ।

फुटसल खेलको लोकप्रियता बढ्दै गएसँगै स्थानीयको आवश्यकताबमोजिम यो खेलको व्यवसाय शुरु गरिएको सञ्चालक समितिका सल्लाहकार रोशन भट्टले बताए । फुटबल खेलको सानो रुपका रुपमा रहेको यो खेल मनोरञ्जन प्रदान गर्नुका साथै मानवीय स्वास्थ्यका लागि अति उपयोगी देखिएको जानकारहरु बताउँछन् । यसमा पाँच/पाँच जनाको दुई समूहले आपसमा खेल्ने गर्दछन् । आज पहिलो दिन एओएस बालग्रामका बालकलाई निःशुल्करुपमा फुटसल खेलाएर यो खेलको शुभारम्भ गरिएको छ ।