गण्डकी प्रदेश

पानी मिलले दिलायो नाम र दाम

बलेवा, बागलुङ । दश वर्ष पहिला मलेशियाको रोजगारी त्यागेर गाउँमै पानी मिल सञ्चालन गरेका बागलुङको काठेखोला–७ रेशका याम बहादुर जिसीले अहिले मासिक ५० हजार रुपैयाँभन्दा धेरै कमाइ गर्छन् । रेशमा सञ्चालनमा रहेको पानी मिलबाट जिसी खर्च कटाएर महिनामा ५० हजार रुपैयाँ बचत गर्छन् ।

खेर गइरहेको पानीको स्रोतलाई उपयोग गरेर जिसीले सञ्चालन गरेको मिलमा कुटानी–पिसानीका साथै काठ काट्ने काम समेत हुने गरेको छ । शुरुमा १ लाख ५० हजार रुपैयाँ लगानी गरेका जिसीले गाउँलेलाई पायक पर्ने ठाउँमा मिल सञ्चालनमा ल्याएर मनग्य कमाइ गर्दैआएका छन् । विसं २०६२ मा गाउँमा रोजगारी नभेटेपछि मलेशिया पुगेका जिसी ३ वर्षपछि घर फर्किए । थोरै तलब र कठिन काम रहेकाले कम्पनीले प्रवेशाज्ञा थप गर्न आग्रह गर्दा समेत नमानेर घर फर्केका जिसीले पानी मिल सञ्चालनमा ल्याएका हुन् ।

उनले घर फर्किने समयमै गाउँको सामान्य खोल्सामा बगेको पानी उपयोग गर्ने योजना बनाएका थिए । मलेशिया जाँदाको ऋण मात्रै भुक्तानी गरेर रित्तो हात घर फर्केका जिसी अहिले मिलको कमाइ देखेर मख्ख छन् । शुरुआतमा ऋणधन गरेर सञ्चालनमा ल्याइएको यो मिलमा अहिले बिहान ६ देखि साँझ ८ बजेसम्म कुटानी पिसानी र काठ चिर्नका लागि आउनेको भीड लाग्ने गरेको छ ।

पानीबाट चलेको टर्वाइनले पिस्ने, कुट्ने र काट्ने मेशिन चलाएर जिसीले गाउँलेलाई सुबिधा दिँदै आएका छन् । उनको मिलमा विद्युत्बाट चलेको मिलभन्दा आधा सस्तो पर्ने भएकाले टाढा टाढाबाट ग्राहक आउने गरेको काठेखोला–७ रेशका वडाध्यक्ष प्रेम बहादुर लामिछानेले बताए । “सेवाको मूल्य सस्तो छ, सबैको विश्वास जितेर काम गरेका छन्, त्यसैले उनको मिल चर्चामा छ,” लामिछानेले भने । जिसीको मिलमा कोदो, मकै, गहुँ पिसेको ४ रुपैयाँ मात्रै पर्छ भने धान कुटेको ५ रुपैयाँ । गाउँमै रहेका विद्युत्बाट चल्ने मिलले पिसेको ८ देखि १२ रुपैयाँ र धान कुटेको १० देखि १२ रुपैयाँ लिँदै आएका छन् ।

वन क्षेत्र रहेको रेशमा काठ काट्ने र चिर्ने कैयौं मिल सञ्चालनमा रहे पनि जिसीको मिलमा काठ चिर्नेको भीड लाग्ने गरेको छ । स्थानीय बजारमा मिलले एक फिट काठ चिरेको १२ रुपैयाँ लिन्छन् भने जिसीले ७ रुपैयाँमा एक फिट काठ चिर्दै आएका छन् । “बागलुङ बजारमा बन्ने घरमा राखिने काठका झ्याल ढोका र गाउँघरमा बन्ने घरका लागि काठ चिर्ने थलो बनेको छ, काठ बोकेर चिर्न आउनेको लाइन नै लाग्ने गरेको छ,” रेश नुन्थला माविका शिक्षक युवराज गौतमले भने । छ जनाको परिवारको खर्च कटाएर तीन जनालाई रोजगारी दिएका जिसीलाई कामको चापले दिनभर फुर्सद हुँदैन । “छोराछोरीको पढाइ, घर खर्च चलाएर महिनामा ५० हजारभन्दा धेरै बचाउने गरेको छु,” जिसीले भने – “तीनजना काम गर्ने कामदारको पनि उचित पारिश्रमिक दिएकै छु ।”

मलेशियामा प्लाष्टिक कम्पनीमा काम गर्दाका दुःख सम्झिँदा उनी भावुक हुन्छन् । मलेशिया जाँदा गरेको लगानी पहिले नै उद्यममा नलगाएकामा उनलाई पछुतो छ । जिसी भन्छन् – “पहिलै मिल चलाएको भए तीन वर्ष विदेशमा बगाएको पसिना देशकै माटोमा सदुपयोग हुन्थ्यो ।” स्थानीय सरकार र गाउँघरमा रहेका समूहबाट सामान्य सहयोग मात्रै लिएका जिसीले व्यक्तिगत लगानीमै मिल चलाइआएका छन् ।

उद्यम गर्नेलाई राज्यले अनुदान दिने घोषणा गरेको भए पनि आफूले घोषणा अनुसारको अनुदान नपाएको जिसीले बताए । हिउँद वर्षा दुवै याममा पानी प्रशस्त हुने खोला थुनेर जिसीले मिल चलाएका छन् । पहिला जिसीको मिलबाट विद्युत्समेत उत्पादन हुन्थ्यो । विसं २०६५ मा ४ किलोवाट विद्युत् निकालेर गाउँलेलाई वितरण गरेको जिसीले सगर्व सुनाए ।

असी घरपरिवारलाई वितरण गरिएको विद्युत् २०६९ सालमा केन्द्रीय प्रसारण लाइनमा गाभिएपछि आपूर्ति बन्द भएको थियो । विद्युत् उत्पादन बन्द भए पनि ४ किलोवाट क्षमताको डाइनामा भने जिसीले सुरक्षित राखेका छन् । विद्युत् उत्पादन हुने समय दिनमा कुटानी पिसानी मिल र रातको समयमा विद्युत् उत्पादन गर्दै आएका जिसीले केन्द्रीय प्रसारण लाइन विस्तारपछि फुर्सद पाएका हुन् । जिसीले भने – “विद्युत् बन्द भए पनि मेरो कमाइ भने घटेको छैन ।” परिवारसँग बसेर गाउँमै राम्रो आम्दानी गरेकामा जिसी खुशी छन् । देशमा भएका स्रोतको परिचालन गर्न नसकेर विदेशिने युवाको लर्को लागिरहेका बेला स्थानीय स्रोत खोजेर आम्दानी गर्नुपर्ने जिसीको सुझाव छ ।