कृषि

मल बन्दरगाहमै थन्कियो

वीरगञ्ज । नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा बन्दरगाहमा थन्किएको छ । नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले मङ्गलबारदेखि आन्दोलन गरेका कारण ढुवानी गर्न नसक्दा सो मल बन्दरगाहमै थन्किएको हो ।

ढुवानी हुन नसक्दा किसान चर्को मूल्यमा मल किन्न बाध्य छन् । भारतबाट तस्करी गरी ल्याइएको ५० किलो तौलको युरिया मल रु एक हजार २०० मा खरिद गर्दै आएको वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका विजय पण्डितले बताए ।

तुर्र्किस्तानबाट आयात गरिएको पाँच हजार मेट्रिक टन मल बन्दरगाहमै थन्किएको कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जका क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तवले जानकारी दिए । “थप पाँच हजार मेट्रिक टन युरिया आयात गर्दै छौँ,” उनले भने । माग अत्यधिक भए पनि संस्थानले प्रतिसहकारी संस्थालाई एक पटकमा १०० बोरा मात्र दिने गरेको छ । ग्रामीण क्षेत्रका सहकारीले मल अभाव देखाएर बढी मूल्यमा बिक्री गर्ने गरेको पाइएको छ ।

कम्पनीले पर्सामा आव २०७४/७५ मा युरिया मल १० हजार ३७५ मेट्रिक टन, डिएपी पाँच हजार ७९९ मेट्रिक टन र पोटास १५१ मेट्रिक टन बिक्री वितरण गरेको थियो । चालू आवको साउनमा नौ हजार ६९८ मेट्रिक टन रासायनिक मल बिक्री गरेको छ । कम्पनीले क्षेत्रीयस्तरमा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सिन्धुली, मकवानपुर, काभ्रे, धादिङ, काठमाडौँ, चितवनलगायतका २० हजार ११४ सहकारी संस्थामार्फत गत आवमा ५८ हजार १३९ मेट्रिक टन मल बिक्री वितरण गरेको थियो ।