स्वास्थ्य

कोरिया अस्पतालको औषधि बिक्री कक्ष उद्घाटन

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको रेडियोलोजी ब्लक निर्माणको शिलान्यास गरिएको छ । संविधान दिवसको अवसरमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले ब्लक निर्माणको शिलान्यास गरेका हुन् ।

स्वास्थ्यमा नागरिकको सहज पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सेवा विस्तार गर्न अस्पतालले ब्लक निर्माण गर्न लागेको नगर प्रमुख श्रेष्ठले बताए । अस्पतालले सहुलियत रुपमा औषधि सेवा प्रदान गर्न फार्मेसीको समेत शुभारम्भ गरेको छ ।

नगर प्रमुख श्रेष्ठले अस्पतालले सञ्चालनमा ल्याएको फार्मेसीको उद्घाटनसमेत गरे । यसअघि निसान फार्मेसीले अस्पतालभित्र भाडामा सञ्चालन गर्दै आएकामा नागरिकलाई सहुलियत औषधि बिक्री गरी सेवा प्रदान गर्न अस्पतालले आफ्नै फार्मेसी सेवा शुरु गरेको हो ।

सो अवसरमा नगर प्रमुख श्रेष्ठले रु चार करोडमा सुविधासम्पन्न एम्बुलेन्स र रु सात करोडमा सिटिस्क्यान मेसिन ल्याउने प्रक्रिया शुरु भएको जानकारी दिए । अस्पतालका लागि नगरपालिकाले रु एक करोड अनुदान दिएको बताउँदै उनले नगरपालिकाले अनुदान र एक प्रतिशत ब्याजमा रु सात करोड ऋण गरी कूल रु आठ करोड ५० लाख अस्पताललाई दिइने बताए ।

नगरपालिकाका ८० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा सहभागी गराई मध्यपुरका शतप्रतिशत नागरिकलाई निःशुल्क उपचारको कार्यक्रम अगाडि बढाएको छ । उनले नगरपालिकाभित्र रहेका पाँचवटा स्वास्थ्य केन्द्र र दुई शहरी स्वास्थ्य केन्द्रलाई यसै अस्पतालमार्फत सञ्चालन गर्ने गरी कार्ययोजना अगाडि बढाएको पनि उनले जानकारी दिए।