बाग्मती

सविधानको मर्मअनुरुप कार्य गर्न आग्रह

रसुवा । सविधानको मर्म र भावनाअनुरुप कार्य गरी अगाडि बढ्न रसुवावासीलाई आग्रह गरिएको छ । सविधान दिवसका अवसरमा आयोजित समारोहमा जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले सविधानद्वारा निर्दिष्ट प्रावधानमा रही सङ्घीयता कार्यान्वयन गर्न र गाउँ समाजको विकासमा हातेमालो गरी अगाडि बढ्न रसुवावासीलाई आग्रह गरे।

गाउँ समाजमा एक आपसी सद्भाव बढाउने, दिगोखाले विकासमा सहभागिता, बालबालिकालाई नियमित विद्यालय पठाउने, समयसमयमा स्वास्थ्य परीक्षण गराई रोग लाग्नुबाट बच्ने, प्राङ्गरिक कृषि उपजको भोजन गर्ने, बृद्धबृद्धा र अपाङ्गता भएकालाई सहयोगको वातावरण सिर्जना गर्न सविधान दिवसले प्रेरणा मिल्ने समेत बताए ।

बाजागाजासहित धुञ्चे बजार परिक्रमा गरी जिल्ला समन्वय समितिको प्राङ्गणमा आयोजित विशेष समारोहमा गोसाइँकुण्ड गाउँ पालिकाका प्रमुख कैसाङ नुर्पु तामाङले सविधानको भावना र मर्मअनुरुप आफ्नो गाउँपालिकाका चल्ने बताए ।

नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि माधवप्रसाद लामिछाने र प्रजिअ कृष्ण पौडेलले सविधानको कार्यान्वयन र जागरण क्रमशः अगाडि बढिरहेको पाइएको बताए ।