बाग्मती

विश्वको सबैभन्दा बढी जनसहभागीतामा सञ्चालित क्याम्पसको रुपमा गिनिज बुकमा नाम लेखाउने तयारी !

काठमाडौं । सोलुखुम्बु बहुमुखी क्याम्पस स्थापनाको २५ बर्षमा पुगेको उपल्क्षयमा क्याम्पसले मेची महाकाली विश्व अभियान सुरु गर्दै ५ वर्षे महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । काठमाडौंमा एक विशेष कार्यक्रम गरी क्याम्पस प्रमुख उद्धवकुमार शर्माले ५ वर्षे महत्वकांक्षी योजना सार्वजनिक गरेका हुन् । जसमा १०१ सदस्य रहने जानकारी गराएका छन ।

पूर्वको मेची नदि र पश्चिमको महाकाली नदीको अंगालोभित्र ७७ जिल्लामा फैलिएर रहेको बिशाल नेपालका नागरिकहरु लाइ संलग्न गरि आगामी ५ वर्षभित्र ५ लाख नागरिक, ५ हजार सरकारी तथा गैरसरकारी संघसंस्था, कार्यालयहरु र कम्तीमा विश्वका २५ राष्ट्रका नागरिकलाई अभियानमा सहभागी गराएर विश्वको सबैभन्दा बढी जनसहभागीतामा सञ्चालित क्याम्पसको रुपमा गिनिज बुकमा नाम लेखाउने लक्ष्य रहेको प्रमुख उद्धवकुमार शर्माले बताए । बढीभन्दा बढी जनसहभागीताका लागि मेचीकाली विश्व अभियान समेत सञ्चालन गरिने क्याम्पस प्रमुखले बताए । क्याम्पस स्थापनाको २५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मेचीकाली विश्व अभियान शुरु भएको घोषणा गरिएको हो ।

सोलुखुम्बु बहुमुखी क्याम्पसको ५ वर्षे अभियानकै क्रममा ट्राभल, टुरिजम् र माउन्टेनियरिङ कोर्स पढाउने कार्यक्रम छ । यस कोर्षका लागि ७७ जिल्लाबाट गरिब तथा जेहेन्दार १ छात्र र १ छात्रा गरी १५४ जना (एकवर्षमा) र तीन वर्षे कार्यक्रमका लागि ४६२ तथा विभिन्न राष्ट्रका २५ जना र अति पिछाडिएका समुदायबाट १३ जना गरी ५ सय जनालाई निःशुल्क उच्च प्राविधिक शिक्षा प्रदान गर्ने कार्यक्रम छ ।

ट्राभल, टुरिजम् र माउन्टेनियरिङ कोर्सको लागि प्रथम वर्षमा नाम्चेबजार, दोस्रो वर्षमा सगरमाथा आधारशिविर र तेस्रो वर्षमा आधारशिवीर भन्दा माथि उक्लिदै थेसिस लेखाउने क्याम्पस प्रमुख शर्माले जानकारी दिए । एक वर्षमा २५ जना विदेशी सहित ५०० जनालाई निःशुल्क उच्च प्राविधिक शिक्षा दिइने छ ।

अभियान अन्तर्गतले क्याम्पसले सोलुखुम्बु बहुमुखी क्याम्पसलाई विश्वको शैक्षिक केन्द्र बनाउने गरी कार्यक्रमहरु अगाडि बढाउने भएको छ । क्याम्पसले स्नातक र स्नातकोत्तर तहमा ट्राभल, टुरिजम् र माउन्टेनियरिङ कोर्स गराउने र यसमा विश्वका २५ देशका एक एक जनालाई निशुल्क शिक्षा दिइने भएको छ ।

यसले क्याम्पसको माध्यमबाट सोलुखुम्बु र नेपाललाई नै विश्वमा चिनाउने र क्याम्पसलाई विश्वको शैक्षिक केन्द्रको रुपमा विकास गरी पर्यटन क्षेत्रमा समेत सुधार ल्याउने क्याम्पस प्रमुख शर्माले बताए ।

‘सोलुखुम्बु बहुमुखी क्याम्पस विश्वको शिक्षाको केन्द्रको रुपमा विकास गरी पर्यटन क्षेत्रमा समेत थप सुधार ल्याई विदेशी मुद्राको आर्जनबाट देशलाई थोरै भएपनि आर्थिक टेवा पुुग्नेछ’ प्रमुख शर्माले भने । क्याम्पसले राखेका शैक्षिक योजनाहरु पूरा गर्नका लागि करिब एक अर्ब रुपैयाँ रकम आवश्यक पर्ने र उक्त रकम चन्दादाताबाटै संकलन गरेर पुर्याइएने लक्ष्य लिएको छ ।

उक्त कार्यक्रममा क्याम्पस संचालक समितिका अधक्ष्य आङरिता शेर्पा, सदस्य प्रभुराम बस्नेत, सदस्य आङ गेलु शेर्पा तथा अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

उक्त ५ बर्षे शैक्षिक योजनाको लागि सम्पूर्ण नेपाली जनसमुदाय देखि बिदेशी नागरिक, दात्रि सस्था, समजासेवी, शिक्षक, बिद्यार्थी लगायत सबैलाई सहयोग गरि आबश्यक सल्लाह सुझाब गरिदिन क्याम्पस प्रमुख उद्धवकुमार शर्माले अपिल गरेका छन् ।