मनोरञ्जन

राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिता हुँदै

काठमाडौँ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा भाग लिन चाहने कक्षा ८ सम्मका विद्यार्थीले अन्तरिक्षको भाव झल्कने चित्र बनाई सोसाइटीको वेबसाइटमा राखिएको आवेदन फाराम भरेर पठाउनुपर्ने छ । चित्र यही असोज १ गतेदेखि १५ सम्म सोसाइटीको वेबसाइटमा पठाइसक्नुपर्ने अध्यक्ष सुरेश भट्टराईले बताए ।

विद्यार्थीले पठाएका चित्रमध्ये निर्णायकबाट २० वटा छनोट गरेर ‘अनलाइन भोटिङ’ का लागि असोज १८ देखि २४ गतेसम्म राखिने छ । एउटा विद्यालयका जति पनि विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउनेछन् । विद्यार्थीको चित्रका साथ विद्यालयका प्रधानाध्यापकको सिफारिश संलग्न हुनुपर्नेछ ।

विजेताको घोषणा अन्तर्राष्ट्रिय विज्ञान दिवसको अवसरमा कात्तिक २४ (नोभेम्बर १०) मा गरिने सोसाइटीले जनाएको छ । पाँचौँ राष्ट्रिय विज्ञान दिवस २०७४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको सोसाइटीका अध्यक्ष भट्टराईले जानकारी दिए । कार्यक्रममा प्रथम हुने विद्यार्थीलाई एक थान टेलिस्कोप तथा प्रमाणपत्र दिइन्छ ।

प्रतियोगिता विसं २०७४ देखि शुरु गरिएको हो । अन्तरिक्ष चित्रकला प्रतियोगिता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीबीच गराइने प्रतिस्पर्धा हो । गत वर्ष पोखरास्थित गण्डकी आवासीय माध्यमिक विद्यालयमा कक्षा ६ का सुकृत सुवेदी प्रथम भएका थिए । यस वर्षको आवेदनसम्बन्धी सम्पूर्ण जानकारी मा राखिएको सोसाइटीले जनाएको छ ।