राजनीति

पूर्वमन्त्री पोखरेल सम्मानित

काठमाडौँ । ग्लोबल पार्लियामेन्टरियन फोरम फर इभ्यालुएशनले पूर्वमन्त्री आनन्दप्रसाद पोखरेललाई सम्मान गरेको छ । यही असोज १ देखि ३ गतेसम्म श्रीलङ्काको कोलम्बोमा सञ्चालन भइरहेको ‘इभल कोलोम्बो–२०१८’ अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा उनलाई श्रीलङ्काका प्रधानमन्त्री रनिलविक्रम सिंहले सम्मान गरेका हुन् । सम्मेलनमा विश्वका विभिन्न देशका २७० भन्दा बढी सांसदको उपस्थिति रहेको छ ।

विश्वाव्यापी मूल्याङ्कनलाई स्थापित गर्न र नेपालको संविधानमा मूल्याङ्कनको विषयलाई समावेश गराउँदै नेपाल सरकारलाई सो मुद्दामा आत्मसात् गराउने कार्यमा महत्वपूर्ण भूमिका खेल्नुभएकोप्रति उनलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो ।

सन् २०१३ मा नेपालबाट पोखरेल, श्रीलङ्काबाट यातयात, उच्च शिक्षा र लगानीमन्त्री कवीर हसनलगायतले प्रारम्भ गरेको पार्लियामेन्टरियन फोरम फर इभ्यालुएशन विश्वका ७० देशमा फैलिएको छ ।

पूर्वमन्त्री पोखरेलले यस फोरमलाई विश्वव्यापी बनाउन र नेपालको संसद् तथा संविधानसभामा मूल्याङ्कनको विषय स्थापित गरी संविधानमा मूल्याङ्कनकोे दफामा समावेशिता, लैङ्गिक समानता, सुशासन र पारदर्शिताको विषयलाई समावेश गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको सो संस्थाको ठम्याइ छ ।

साथै नेपालले मूल्याङ्कनको एकीकृत राष्ट्रिय कार्ययोजना निर्माण गरी कार्यान्वयनको तहसम्म पु¥याउन र दिगो विकास लक्ष्य २०३० लाई हासिल गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकाले पनि उनलाई सम्मान गरिएको कम्युनिटी इभ्यालुएटर्स अफ साउथ एशियाका अध्यक्ष गणपति ओझाले बताए ।