खेलकुद

एन्फाको सल्लाहकारमा शाह नियुक्त

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को सल्लाहकारमा अनिलकेशरी शाह नियुक्त भएका छन् । नबिल बैंकका प्रमुख कार्यकारी रहेका शाहलाई आज एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले कर्पोरेट सल्लाहकारमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरे ।

अध्यक्ष शेर्पाले विभिन्न क्षेत्रबाट ११ जना सल्लाहकार नियुक्त गर्न मिल्ने र त्यसैअनुसार शाहलाई नियुक्त गरेको जानकारी दिए । “नेपाली फुटबलको विकासका लागि शाहलाई सल्लाहकार नियुक्त गरेको हो, नेपाली फुटबलको विकासमा उनको योगदान छ,” शेर्पाले भने ।

यसअघि व्यवसायी सुरज वैद्य र विष्णुकुमार अग्रवाललाई समेत एन्फाले सल्लाहकारमा नियुक्त गरिसकेको छ ।

अघिल्लो पटक शाह नबिल बैंकको प्रमुख कार्यकारी हुँदा नेपाली फुटबलमा कर्पोरेट लगानी शुरु भएको थियो । त्यतिबेला शाहकै अग्रसरतामा ‘ए’ डिभिजन क्लब थ्री स्टारलाई नबिल बैंकले प्रायोजन गरेको थियो । पछि शाह मेगा बैंकमा हुँदा पनि थ्री स्टारलाई प्रायोजन गरेको थियो ।