प्रदेश 1

झापा गापा खुल्ला दिसामुक्त घोषणा

झापा । झापा गाउँपालिका झापा जिल्लाको नवौं स्थानीय तहको रुपमा खुल्ला दिसामुक्त घोषणा भएको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष एवम् जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले हरियो झण्डा अनावरण गर्दै झापा गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरे ।

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा साविक शरणाामतीमा सहारा नेपाल र साविक कुमरखोद तथा टाघनडुब्बामा सगरमाथा सामुदायिक विकास केन्द्रले खुल्ला दिसामुक्त अभियान सहजीकरण गरेका थिए । ७ हजार २ सय २९ घरधुरी रहेको झापा गाउँपालिकामा खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्नुअघि ३ हजार ४ सय ४६ घरधुरीमा सुरक्षित चर्पीको पहुँच रहेको थियो भने ३ हजार ७ सय ८३ घरधुरीमा अभियानका क्रममा नयाँ सुरक्षित चर्पी बनाइएको हो ।

झापा गाउँपालिकामा चर्पी निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी, अभियान नेपाल र एस.एन.जे.डी. लगायतका संस्थाहरुले विपत् उत्थानशील कार्यक्रम एवम् पुनर्लाभ कार्यक्रमअन्तर्गत सहयोग गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पोर्तेलले साबुन पानीले हात धुनुका साथै गमलामा जल सिंचन गरेर कार्यक्रमको उद्घाटन गरे ।
भौतिक विकासलाई मात्र विकास ठान्ने प्रवृत्ति अन्त्य गर्दै मानवीय, सामाजिक, आर्थिक, शैक्षिक र साँस्कृतिक क्षेत्रमा रुपान्तरण र समुन्नति आवश्यक भएको उनले बताए ।

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका जिल्ला संयोजक विनोद शर्माले खुल्ला दिसामुक्त अवस्थाको दिगोपन र पूर्ण सरसफाइ प्रवद्र्धनका लागि पूर्ण सरसफाइ रणनीतिक योजना तयार गरी अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सबैको सामुहिक प्रयासबाट नै गाउँपालिका खुल्ला दिसामुक्त अवस्थामा पुगेको बताए ।
कार्यक्रमका अध्यक्ष एवम् झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले खुल्ला दिसामुक्त अभियानको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै कार्यक्रमका सहभागीहरुलाई पूर्ण सरसफाइ प्रतिवद्धता गराएका थिए ।

गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी बूढाथोकीले स्वागत व्यक्त गरेको कार्यक्रममा वडा नं. २ का अध्यक्ष नेत्र खड्का, नेकपाका गजेन्द्र चाम्लिङ, नेपाली काँग्रेसका शुभ कँडेल, राजपाका विश्वराज राजवंशी लगायतले सरसफाइ अभियानको दिगोपनका बारेमा बोलेका थिए ।

खुल्ला दिसामुक्त अभियानमा सहयोग गर्ने संघसंस्था, निकाय तथा अभियानकर्ताहरुलाई गाउँपालिकाले स्वागत गरेको सो कार्यक्रममा कलाकारहरुले विभिन्न साँस्कृतिक झाँकी र सरसफाइ गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए ।