शिक्षा

वालिङमा बहुप्राविधिक शिक्षालय

वालिङ । स्याङ्जाको वालिङ १३ बोधिभञ्ज्याङमा बहुप्राविधिक शिक्षालय खुलेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को आङ्गिक संस्थाको रुपमा आँधीखोला बहुप्राविधिक शिक्षालय सञ्चालनमा आएको हो । बहुप्राविधिक शिक्षालयमा तीन वर्षे स्नातक तहको बाली विज्ञान विषयमा ४० जना विद्यार्थीले अध्ययन गर्ने छन् । “भदौ २७ देखि फारम वितरण गरेका हौं” शिक्षालयका प्रमुख नवीनकिशोर गैह्रेले भने ।

“ शिक्षालयका लागि नेपाल सरकारबाट ४० लाख र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट रु दुई करोड विनियोजन भएको छ” शिक्षालय व्यवस्थापन समितिका अध्यक्ष कबिता गैह्रेले भने, “उक्त रकम भवन निर्माण गर्न सर्वे गर्न र शिक्षालय सञ्चालनमा खर्च हुनेछ ।”केही दिन अघिमात्रै स्वीकृति प्राप्त भएकाले भवन निर्माण भइसकेको छैन । सो शिक्षालय हाल लक्ष्मी माध्यमिक विद्यालयमा सञ्चालन गरेको शिक्षालय प्रमुख गैह्रेले बताए ।

शिक्षालय सञ्चालन गर्न वालिङ नगरपालिका– १३ का ४१ जना स्थानीयवासीले ७० रोपनीभन्दा बढी जग्गा उपलब्ध गराइसकेका छन् । “बाली विज्ञान विषय अध्ययन गर्न अन्यत्रै जानुपर्ने बाध्यता थियो” वडा नं. १३ का अध्यक्ष आनन्द पाठकले भने,“शिक्षालयको सञ्चालनसँगै स्थानीय तहमै अध्ययन गरी आफ्नै खेतबारीमा प्रयोग गर्नसक्ने भएकाले पनि युवालाई आधुनिक र व्यावसायिक कृषितर्फ लाग्न थप ऊर्जा मिल्ने विश्वास लिएको छु ।”