विचित्र संसार

बस दुर्घटनाका कारण तीन मन्त्रीले दिए राजिनामा !

काठमाडौं । बस दुर्घटनामा मानवीय क्षति भएपछि बुल्गेरियाका तीन मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । पर्यटक बस दुर्घटना भएसँगै आलोचनापछि सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिला मन्त्रीले राजीनामा दिएका हुन् ।

“हामी तीन जना मन्त्रीहरु म, यातायात मन्त्री इभायलो मोस्कोभस्की र आन्तरिक मामिला मन्त्री भ्यालेन्टायन राडेभले आज राजीनामा दिएको छौँ,” क्षेत्रीय विकास तथा सार्वजनिक सेवा मन्त्री निकोलाय नान्केभले शुक्रबार पत्रकारलार्इ बताए ।

गत शनिबार पश्चिमी बुल्गेरियामा भएको दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो भने चारको अवस्था चिन्ताजनक रहेको छ ।

प्रधानमन्त्री बोयको बोरिसोभले शुक्रबार बिहानै तीनै जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएका थिए । त्यसको केही समयपछि तीनै जना मन्त्रीले राजीनामा दिएका हुन् । दुर्घटनापछि सम्वन्धित मन्त्रालयका उच्च अधिकारीतर्फबाट अपेक्षित र पर्याप्त सहयोग तथा तदारुकता नदेखिइएको भन्दै आलोचना भएपछि प्रधानमन्त्रीले राजीनामा दिन निर्देशन दिएको बताइएको छ । –एजेन्सीको सहयोगमा