कर्णाली प्रदेश

वृक्षरोपण शुभारम्भ गर्दै मुख्यमन्त्री शाही

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ७ स्थित एयरपोर्ट तीनकुने चोकलाइन– ५ स्थित कारगार नजिकको मैदानमा वृक्षरोपण गरिएकोे छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा फलफूल तथा मसालाजन्य बिरुवा रोपिएको हो । श्रम र संविधान दिवसको पूर्वसन्ध्यामा वृक्षरोपण शुभारम्भ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकमा संविधानको सही कार्यान्वयन नभएसम्म जनताले परिवर्तनको आभास नगर्ने बताए । उनले भने, “संविधान जारीभए पनि कार्यान्वयनमा चुनौती भएकाले सरकारदेखि नागरिक तहसम्म कटिबद्ध हुनुपर्छ ।” कर्णाली प्रदेशलाई हरित प्रदेशका रुपमा विकास गर्न हरेकले श्रम गर्नुपर्नेमा पनि मुख्यमन्त्री शाहीले जोड दिए ।

वृक्षरोपलणले हरित प्रदेशको विकास र अर्थतन्त्रमा समेत सहयोग पुग्ने चर्चा गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भने, “सरकारले प्राङ्गारिक खेती विस्तारकोे लक्ष्य लिनुका साथै वन, वातावरण संरक्षण र जलवायु अनुकूलनका कार्यक्रम अघि बढाउने भएको छ ।” वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले प्रदेश सरकारको कार्यक्रमले आफूहरुलाई पनि काममा उत्साह मिलेको बताए । त्यस अवसरमा ४५० मसाला र ३०० फलफूलका बिरुवा रोपिएको थियो ।