विचित्र संसार

वेलायतमा बन्यो उड्ने शूट, किन्ने हो ? यस्तो छ मूल्य !

काठमाडौं । ‘फिल्मी फेन्टेसी’ को प्रभाव निकै गहिरो हुन्छ । वास्तविक धरातलबाट कल्पनाको खुल्ला आकाशमा उडाइदिन्छ मानिसलाई । प्रभाव कति समयसम्म र कुनरुपमा रहन्छ भन्ने कुराले निकै ठूलो महत्व राख्छ । कतिपय क्षणिक आनन्दको तृप्तिपछि बाहिर आउँछन् भने कति त्यसमा गहिरिएर, आफ्नो लगावले त्यसलाई मूर्तरुप पनि दिन्छन् तर यो एकदमै कमै हुने गर्छ ।

फिल्म दुनियाँकै प्रभावलाई मूर्तरुप दिने न्यून प्रयासमा एकजना व्यक्ति भने सफल भएका छन् । वेलायतका एकजना आविष्कारक तथा व्यवसायी रिचर्ड ब्राउनिङले आफ्नो सपनालाई मूर्तरुप दिएका छन् । उनले एउटा यस्तो सूट तयार पारेका छन् जसलाई लगाएर मानिस फिल्मी फेन्टेसीको आयरम्यान जसरी हावामा उड्न सक्छ ।

ब्राउनिङले दाबी गरेका छन् उक्त शूट लगाएर कुनै पनि मानिस प्रतिघण्टा ५० किमीको रफ्तारमा दूरी तय गर्न सक्छ । यसको मद्दतमा १२ हजार फीटसम्मको उचाईमा उड्न सकिन्छ । उक्त शूटलाई पाँच जेट इन्जिन प्रयोग गरिएको छ जसले हावामा उडान भर्दा शरीरलाई सन्तुलित राख्छ । साथै विशेष प्रविधि र थ्रीडी प्रिंटेड पार्टस पनि प्रयोग गरिएको छ ।

उनी हाल उक्त शूटलाई बेच्ने तयारीमा छन् । त्यसको मूल्य करिब तीन करोड चार लाख रुपैयाँसम्म पर्नेछ ।

लण्डन शहरमा तेलको कारोबार गर्ने ब्राउनिङको अनुसार उनको बुवा पनि हवाई जहाज कम्पनीका इन्जिनियर थिए । उनको हजुरबुबा पाइलट र बुढा हजुरबुबा हेलिकप्टर बनाउने काम गर्दथे ।

ब्राउनिङको अनुसार उनको शूट सेनाको लागि एकदमै सहयोगी हुनेछ । त्यस शूटको मद्दतले हेलिकप्टर वा प्लेन नपुग्ने स्थानहरुमा पुग्न सकिने उनी बताउँछन् । उनले त्यस्ता शूट बनाउनका लागि ग्रेविटि नामको कम्पनी पनि स्थापना गरिसकेका छन् ।

उनको १०५० हर्सपावरवाला शूटलाई लण्डनको एक डिपार्टमेन्टमा बेच्नका लागि राखिएको छ । त्यसलाई खरीद गर्न केही मानिसहरुले सम्पर्क समेत गरिसकेका छन् । –एजेन्सी