सुदूरपश्चिम

सङ्घीयताको मूल मर्म नै प्रतिनिधित्व, पहिचान र पहुँच : मुख्यमन्त्री भट्ट

कैलाली । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीयताको मूल मर्म भनेको नै प्रतिनिधित्व, पहिचान र पहुँच रहेको बताए । आज धनगढीमा आयोजित थारू कल्याण कारिणीसभा कैलालीको आठौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उनले भने, “नेपालको संविधानमा प्रतिनिधित्व, पहिचान र पहुँच मुख्य कुरा रहेको र यसलाई व्यावहारिक रुप दिनका लागि सबै मिलेर अगाडि बढ्नुपर्छ ।”

मुख्यमन्त्री भट्टले प्रदेश नं ७ विभिन्न संस्कृति, वेशभूषा, भाषा र जातजातिको साझा फूलबारी रहेको उल्लेख गर्दै सबैको पहिचान र सहअस्तित्वलाई स्वीकार गरी प्रदेशको विकास र समृद्धिका लागि सरकार प्रयत्नशील रहेको बताए ।

प्रदेश नं ७ का भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनिता चौधरीले थारु समुदायको सशक्तिकरणका लागि सरकार गम्भीर रहेको बताए । थारू कल्याणकारिणीसभाका कार्यवाहक सभापति बाधुराम चौधरीले थारू समुदायका मुद्दा सम्बोधन गर्नका लागि संविधान संशोधन गर्न जरुरी रहेको बताए ।