खेलकुद

खेलकूदका भौतिक पूर्वाधार निर्माणमा तीव्रता

नेपालगन्ज । नेपालगञ्जमा पूर्व घोषित समयमै आठौंँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने सम्भावना कायमै रहेको मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले बताए ।

आज रासससँग कुरा गर्दै उनले खेलकूद पूर्वाधार निर्माणका लागि रोकिएको बजेट प्राविधिक टोलीको प्रतिवेदनका आधारमा निकासा हुन थालेकाले तोकिएको समयमा प्रतियोगिता हुनेमा आफू आशावादी रहेको बताए । तोकिएको समयमा प्रतियोगिता हुन नसक्ने आशयको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि अध्यक्ष ओलीले केही कठिनाइका बाबजुद पनि पूर्व घोषित समयमा प्रतियोगिता आयोजना गर्न कुनै कसर बाँकी नराख्ने अठोटसमेत व्यक्त गरे ।

आठौँं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि आगामी मङ्सिर २१ देखि २८ गतेसम्मको मिति तोकिएको छ । अध्यक्ष ओलीले राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि यस क्षेत्रका खेलाडीको बन्द प्रशिक्षण पनि चाँडै शुरु गरिने जानकारी दिए । नेपालगञ्जमा हुने आठौँं राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको छ । राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ ।

पूर्वाधार निर्माण अन्तर्गत नेपालगञ्ज रङ्गशालास्थित कबर्ड हलको स्तरोन्नतिको काम सम्पन्न भइसकेको छ । रङ्गशाला क्षेत्रको बाहिर रहेको कबर्ड हलको छाना आधुनिक बनाइएको छ । भूइँमा फ्लोरिङ गर्ने कामपनि सकिएको अध्यक्ष ओलीले बताए । रङ्गशाला क्षेत्रमा झण्डै रु १८ करोडको लागतमा पौडी पोखरी र २४ करोडको लागतमा प्यारापिटसहितको अत्याधुनिक रङ्गशाला निर्माण भइरहेको छ ।

पूर्वाधार निर्माण अन्तर्गत रङ्गशालामा रु सात करोडको लागतमा ‘ट्र्याक एण्ड फिल’ निर्माणको काम पनि धमाधम भइरहेको छ । रङ्गशाला क्षेत्रभित्रै भारोत्तोलन एकेडमी, सुटिङ रेञ्ज निर्माणको काम अन्तिमचरणमा पुगेको छ । सुटिङका लागि आवश्यक एअर पेस्तोल र एअरगन खरीद प्रक्रिया पूरा भइसकेको छ ।

आठौँं राष्ट्रिय खेलकूद प्रतियोगिताका केही खेल बाँकेको कोहलपुर, बर्दिया र दाङमा पनि हुनेछ । त्यसका लागि बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदान वरिपरी पर्खाल निर्माण, दाङको बेलझुण्डीमा रु २५ करोडको लागतमा रङ्गशाला र बर्दियाको गुलरिया र ठाकुरद्धारामा खेलमैदान तथा कबर्डहलमर्मत एवं निर्माण भइरहेको छ । आठौँं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि बर्दिया राष्ट्रिय निकुञ्जको पहिचान झल्किने गरी हात्तीको छावालाई ‘मष्कट’को रुपमा पारित गरिएको छ । केही दिनअघि खेलकूदमन्त्री एवं प्रतियोगिता मूलआयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको समितिको बैठकले अहिलेसम्म पूर्वाधार निर्माणको कामको समीक्षा गरेको थियो ।

प्रतियोगिता समयमै आयोजना गर्न सङ्घीय, प्रदेश नं ५ र त्यस अन्तर्गतका स्थानीय सरकारसँग क्षेत्रीय खेलकूद विकास समितिले सबै खाले सहयोग, सहकार्य र अपनत्व ग्रहण गर्न आग्रह गर्दै आएको छ । आगामी मङ्सिर २१ गतेदेखि नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा ३५ खेलमा करीब पाँच हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।