विचार/ब्लग

तपाई धन्यवादको पात्र चाहिँ पक्कै हुनुहुन्छ

वीरभद्र आचार्य/ हिजो साँझ मेरो एकजाना विदेशिएका अग्रज तर व्यवहारमा मित्रवत् साथीसँग फेसबुकमा कुराभयो । आजकाल फेसबुकले आपसी सञ्चारलाई कति सजिलो बनाई दिएको छ । कुरा केही तीतोमीठो तर रमाइलो भयो । मैले मेरो कुरा राखेँ, उनले उनका दलिल राखे । कुरा लामै हुन सक्थ्यो तर सामाजिक सञ्जालमा दाजुभाइ सरहका मित्र बिचका तिता मिठाकुराहरू कतिसम्म गर्ने भन्ने पनि भयो । कुनै एक बिन्दुमा आएर सौहार्द वातावरणमा कुरा टुङ्ग्यायौँ । मजा भयो । आज हिजो हामी दुई दाजुभाइ बिचको सन्दर्भलाई सार्वजनिक बहसमा उतार्ने जमर्को गर्दैछु ।
कुरा एकदमै सरल थियो । जीवन कसरी सफल तुल्याउन सकिन्छ र यसका आधार के के हुन् । केलाई जीवनको सफलता मान्ने त ? कुन कुरा प्राप्त गरे भने आफूलाई सफल मान्ने? जीवनका कुन कुन आकाङ्क्षाहरू पूर्ति भएमा? अथवा कसले भन्ने की तिम्रो जीवन सफल भयो भनेर । फेरी, जीवनको सफलता कहाँ पुगेर नाप्ने? कहिले आफ्नो सफलता सँग गौरव गर्ने रु पढाई सकेर नयाँ जीवनको सुरुवात गर्दा ? आफ्नो पेसामा माथिल्लो दर्जामा पुग्दा? रिटायर्ड भएर भागवत समात्दा या फेरी मृत्यु सैय्यामा पुग्दा? हेर्नुहोस् है ! तपाईँलाई सफलताको अर्थ यी प्रश्नहरू यहाँ तेर्सिनु अघिसम्म कति सरल र सहज लाग्थ्यो, तर यो कति गहन र कति उल्झिएको छ ।
आज जुनकुरालाई लिएर हामी आफ्नो सफलता मान्छौ र गर्वका साथ डङ्का पिटेर हिँड्छौ, के यो परिवर्तनशील जगत्मा भोलि पनि आजकै अवस्था रहिरहन्छ होला त? राती सुतेर बिहान उठ्दाको परिस्थिति त्यही नै हो त? हो ! सरसरती हेर्दा हिजो पनि त्यही जागिर थियो, आज पनि त्यही जागिर खान गइरहेको छु । मैले हिजो अफिसको टेबलमा छोडेर आएको फाइल आज पनि जहाँको हिँड नै छ । फेरी किन यी पागलहरू क्षणभंगुर संसार भनेर चिच्याउँछन् र हामी सोझो जागिर खाएर आफ्नो र परिवारको पेट पालेर जीवन निर्वाह गरेर बसेका व्यक्तिलाई गुमराहमा पर्छन् । पागल !
तर समय त बिति नै रहेको छ । तपाईँले अलि सूक्ष्म तरिकाले समयलाई अवलोकन गर्नुभयो भने त्यो परिवर्तन तपाईँको अनुहारमा, शरीरमा अनि विचारमा देखा पर्न थाल्छ । जीवनका हरेक क्षण र पलहरूले तपाईँमा परिवर्तन निम्त्याई रहेको हुन्छ । घडी हेरेर समयको आँकलन हुन्न हो, हजुर ! जीवनको हरेक पहलहरूमा, प्रकृतिमा प्रत्येक क्षण आएका परिवर्तनसंग मात्र हामी समयको आकलन गर्न सक्छौँ । घडी त स्कुले केटाकेटीले लाउने वस्तु हो, समयमा कक्षा भ्याउनु पर्छ भनेर । पत्याउन हुन्न भने तपाईँले नाडीमा लगाएको रोलेक्स या टाइटान, नभए सिको घडीमा हेर्नुहोस् त । के देख्नु भयो! सुई घुमी रहेको । तपाईँ सोच्नुहुन्छ, यो पागलले के हाम्रो समय फाल्तु कुरामा बिताइ रहेको छ । अव म भन्छु, आज १२ देखिएको घडीको सुई भोली १२ बजे पनि त्यहिँ पगेको हुन्छ ! हो ! घडीलाई आधार बनाउने हो भने आज बजेको १२ भोलि पनि सुईले त्यही १२ मै देखाएको हुन्छ, होइन त ? फेरी खोइ त परिवर्तन । हो यही हो सुक्ष्म दर्शन । घडीले त समय मात्र देखाउँछ, परिवर्तन तपाईँको शरीर र विचारमा आई रहेको हुन्छ । साँचै परिवर्तनलाई जान्ने र सिक्ने हो भने घडीले काम दिँदैन, शरीरको र प्रकृतिको अध्ययन गरेर मात्र थाहा हुन्छ ।
हेर्नौस त सफलताको कसिको कुरा गर्दै थिएँ कहाँ घडी र परिवर्तनमा छलफल गर्न पुगेँछु । हो यही हो, हाम्रो जीवन पनि सबै विषयको संगमस्थल हो । एकको चर्चा गर्न अर्काको आधार आवश्यक हुन्छ । सफलताको कडी पनि यिनै हो । कोही पनि, कहीँ पनि सफल हुन अरू कतिजानाको बुई चढेका हुन्छौँ हामी । अनि विगतलाई बिर्सिएर आज आएको परिवर्तनलाई गौरवकासाथ आफ्नो सफलता भनेर गर्व गर्छौँ हामी । ए मित्र यो तपाईँ प्रति ईँगित छैन है । यो एक अनि तै गहन विषय भएर आज सन्दर्भ निक्लेको मात्र हो । तर तपाईँ धन्यवादको पात्र चाहिँ पक्कै हुनुहुन्छ ।
यदि वि.सं. १९९३ सालमा एक संभ्रान्त नेपालीले (मसँग जातभात छैन, नेपालको सपुत हुँ, नेपाली पन र नेपाली माटो मात्र छ) ‘म राणा सरकार फालेर, नेपालमा प्रजातन्त्र ल्याउँछु भनेर आफ्ना बाबु, आमा, अनि श्रीमती र आफ्ना पाँच वर्ष भन्दा पनि मुनिका लाला वालालाई तिलान्जली दिएर घरबाट निस्केर नहिँडेको भए के विक्रम संवत् २००७ सालको क्रान्ति सम्भव थियो? कुनै वादमा नलागेर आत्मा साक्षी राखेर भन्नोस् है । फेरी भोलि देखी आत्माले दिनदिनै धिक्कारला, होस गरेर मात्र जवाफ फर्काउनुहोला । यहाँ सन्दर्भ निस्कियो एउटा कुरा भनौ है । वुझिराख्नोस ? तपाईँको आत्मा तपाईँको व्यक्तिगत होइन ।
हा ! हा ! फेरी यो पागलले के भन्यो भन्नुहुन्छ । यही पागलपनमा त छ भौतिक रमाइलोको परछाई, अनि अध्यात्मीक ज्ञानको आनन्द । होइन भने आत्मामा फेरी एक पटक टटोल्नु होला । बताइ दिन्छ, सरल भाषामा । अव हाम्रो उपनिषद र गीता उद्रित गर्छु, ‘आत्मा सर्वव्याप्त छ ।’ त्यसैले त तपाईँले जति झुट लुकाए पनि या झुटको सहारा लिए पनि आत्माले औँला ठड्याई रहेकै हुन्छ । किनकि आत्मा सत्यको अंश हो जो सर्वव्याप्त छ । सत्य कहिले लुक्दैन पनि झुक्दैन पनि, बरु फटाहाहरूलाई र चोरहरूलाई सार्वजनिक या व्यक्तिगत तवरले झुकाई दिन्छ । अव जवाफ दिनुहोस वि.स. १९९३ सालमा त्यो एक नेपाल आमाको सपुतको घरमा संखनाद नभएको भए र उनैको नेतृत्वमा चार सहिदले हाँसी हाँसी मृत्युलाई स्वीकार नगरेको भए के २००७ साल आउँथ्यो? कसको आडमा भारतमा नेपाली दाजुभाइ दिदी बहिनीमा एक स्वर आयो र क्रान्तिको ज्वाला बल्यो । यो तस्बिर हेर्नुहोस् र सोध्नु होस तपाईँका नेताहरूलाई हालसम्म लुकेको त्यो विषयलाई ।

कुने पृष्ठभूमि बेगर के विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वले सफलता पाउँथ्यो या त फेरी पुष्पलाल जन्मन्थे ? हेर्नुहोस् यहाँ अत्यन्तै संवेदनशील र गहन विषयको उठान भएको छ । यो न त मेरो व्यक्तिगत विषय हो न त कसैलाई उचाल्न या खसाल्न उठेको कलम हो, नारायणीको तिरमा बस्दा नारायणी नदीले उठाएकी विषय हो यो । सत्यले धेरै उकुसमुकुस भएर उठ्न खोजेको मात्र हो । तपाईँहरू जस्तो विद्वता र संघर्षशिल वर्गको बिचमा म फुच्चेको के औकात कि मैले तपाईँहरूलाई चुनौती दिन सकूँ । यो त सत्यले तपाईँ प्रति ईंगित गर्दै सोधेको प्रश्न मात्र हो । उसको उकुसमुकुस मात्र हो ।
जय नेपाल आमा । सत्यले आवश्यक ठाने भने फेरी कलम उठ्न सक्छ । नारायणीको के भनाई छ ।

( यसभन्दा अगाडी प्रकाशित भएको ‘हामी सिंगाने नेताको पछाडी अत्तो न पत्तो हिँडिरहेका छौ’को पहिलो भाग हो )