कृषि

किसानलाई राहत र क्षतीपूर्ती खोई ?

चितवन । गत वैशाखमा पूर्र्वी चितवनमा हावाहुरी र असिनाले नष्ट गरेको बालीको क्षतीपूर्ती र राहत कृषकले पाउन सकेका छैनन् ।

हावाहुरीले केरा, मौरी, तरकारी, मकै, कागती, धान लगायतका बालीमा ठूलो क्षति पुगेको थियो । तत्कालीन जिल्ला कृषि विकास कार्यालयले सङ्कलन गरेको तथ्याङ्कअनुसार रु ४८ करोड एक लाख ११ हजार क्षति भएको थियो । त्यसमध्ये ४० करोड हाराहारी केरामा मात्र क्षति भएको कार्यालयका प्रमुख सुधिर श्रेष्ठले बताए । त्यसबाट ६ हजार ५८९ परिवार प्रत्यक्ष प्रभावित भएका थिए । श्रेष्ठका अनुसार बीमाले केही रकम दिएको भए पनि सरकारी तवरबाट कुनै राहतको बजेट आएको छैन ।

चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोले क्षतीपूर्ती र राहत नपाउँदा किसान निरास बनेको बताए ।

केरा लगाएकामध्ये केही किसानले बीमा गरेका थिए । बीमा कम्पनीले पनि विभिन्न वहानाबाजी गरेर दावी भुक्तानी ढिलो गरेको पीडित किसानले जनाएका छन् ।

केरा लगाएकामध्ये २९० स्थानको शिखर इन्सुरेन्स कम्पनीले बीमा गरेको थियो । करीब आठ करोडको बीमा भए पनि रु दुई करोड मात्र भुक्तानी भएको महतोले बताए ।

बीमा कम्पनीका बजार महाप्रबन्धक पुष्कर महतले आवश्यक कागजपत्र प्राप्त हुन नसक्दा ढिलाइ भएको बताए । हावाहुरीले बाली नष्ट भएसँगै प्रदेश नं तीनका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको नेतृत्वमा यस क्षेत्रका प्रदेश सांसद सहितको टोलीले सङ्घका कृषि मन्त्रीलाई भेट गरी राहत र क्षतिपूर्तीको माग गरेका थिए । हावाहुरीले कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा क्षति पु¥याएको थियो ।