विचार/ब्लग

हामी जनता अत्तो न पत्तोसँग सिँगाने नेताको पछि लागेर हिँडिरहेका छौं

वीरभद्र आचार्य/ठिक बिहानको ५ः०० बज्यो । ल हेर्नोस् ! आज फेरी नारायणीको स्वरमा सत्यले घचघच्यायो । म चुप लागेर बस्न सक्छु, तर सत्य ! उसलाई त म को हुँ, तिमी को हौ र । सबै एकै छन् । विश्वेश्वरप्रसाद या पुष्पलालको लागी उ जति बोल्न सक्छ, टंकप्रासादको लागी पनि उ त्यति नै बोल्न सक्छ । उ म जस्तो छैन कि कसैलाई काखा र कसैलाई पाखा लगाउँछ । किनकि उ त सत्य हो । हरेक प्राणीको ढुकढुकी हो र सर्व व्याप्त आत्मा हो ।

वि सं २००७ सालको आन्दोलनको सफलताको श्रेय कस्लाई दिने ? प्रजापरिषदलाई या नेपाली काँग्रेसलाई, या दुवैको गठजोडलाई । या त फेरी नेपाली जनतालाई । हो ! तत्कालमा नेपाली काँग्रेसको नेतृत्वमा जनताहरू सडकमा उत्रिए । तर नाशा नशामा सहिद दशरथ चन्द, धर्मभक्त, गंगालाल र शुक्रराजको रगत उर्लिरहेको थियो अनि आत्मामा जेल भित्रका साथीहरूले दिएको बलिदान प्रतिको श्रद्धा भाव र ऋणको बोझ थियो । किनकि जेल भित्रका नेपाली सपुतका आत्मा र बाहिरका नेपालीको आत्मा एउटै थियो, त्यसैले त जेल भित्र भएका साथीहरूको मुटुको ढुकढुकी जेलबाहिरका जनताको आत्मामा झंनकृत भएर उठ्थ्यो र त्यो ढुकढुकी ईमक्लावको सोरमा सडकमा गुन्ञियो । हेर त एक पटक २००७ फाल्गुण ७ गते पछि जेल मुक्त साथीहरूलाई जनताले दिएको माया । के यी सबै संयोग नभएको भए नेपाली काँग्रेसको एकल नेतृत्वमा आन्दोलन सफन हुन्थ्यो? यो अत्यन्तै विचारणीय कुरा छ ।

हामीहरू अत्तो न पत्तोसँग सिँगाने नेताहरूको पछि लागेर हिँडेका छौँ, हो कि होइन? किनकि उनीहरूले विश्वेश्वरप्रसाद कोइराला, गणेशमान या पुष्पलालको नाममा आफ्नो दुनो सोझ्याउन सफल भए । सहरमा आलिसान घरहरू बने । हामी पनि यिनको पछि लागे भने त कुनै दिन यिनले ढाडमा धाप मारेको भरमा नेता बन्न पाइन्छ कि भनेर। न कुनै आदर्श न कुनै सिद्धान्त । सोध ती सिँगाने नेताहरूलाई कतिजनाले विश्वेश्वरबाबुको समाजवाद वुझेकाछन् र व्यवहारमा उतारेका छन् । एक पटक विश्वेश्वरप्रसाद कोइरालाको समाजवाद भनेर भाषण दिन लागाउ त दुई घण्टा सम्म वोलिदिन्छन् । तर उनिहारूलाई पत्तो हुँदैन के बोलेँ भनेर । साँचै भन्ने हो भने विश्वेश्वरप्रसाद कोइरालाको समाजवादको सिद्धान्त तिन शब्दमा टुङ्गिन्छ र यहिनै थियो हरेक राष्ट्रीयस्तरको नेताको चाहना । कसैले यसलाई समाजवादसँग जोडे, कसैले कम्युनिस्ट विचारधारासँग र कसैले आफ्नै पारामा भने । तर कुरोको चुरो एउटै थियो, ‘गाँस, वास र कपास’ यो कुरा न त सिँगाने नेताहरू या फेरी ठुटे नेताहरूले बुझे । बुझेको भए त्यति लामो भाषण गर्नै पर्दैन ।

ती दूरदर्शी नेताहरू अझै बाँचेका भए आजसम्म हरेक नेपालीको एक झोपडि, दुहुनो गाई, आयकोलागी खेतीपातीको जमिन, स्वास्थ्य शिक्षाको व्यवस्था भैसकेको हुन्थ्यो । तर विधिको विधान र समयको प्रवाह । हालका ठुटे नेताहरूले पनि पुराना नेताको मुख नहेरेर उनीहरूले आत्मसात् गरेको सिद्धान्त या आदर्शको पछि लागि दिएको भए आज देशको यो दुर्दशा हुने थिएन । गाली गलौज या उखानटुक्काको भरमा कसैले देशलाई यो भड्खालमा हाल्ने थिएन । या फेरी भारतको या चीनको नेताहरूको ओरीपरी घुम्न पर्ने थिएन हाम्रा नेताहरूलाई । दम भएन । न त दम छ, न त गुदिनै छ । जसले सिद्धान्त बुझेका छन् र बोकेर हिँडेका छन्, मैले त्यीनलाई कहिले पनि नेताहरूको ढोका कुरेको र तस्बिर खिचाएको देखेको छैन । बरु यिनका पछि त भारतका नेताहरू पनि नतमस्तक भएर पछि लागेको देखेको छु ।आजकलका यी राष्ट्रिय नेता हुन लायकका व्यक्तिहरूमा व्यावहारिकता भने छैन । कोही किताब मा छन्, कोही खोइ के मा छन् ।

हामी हरेक वर्ष विपी जयन्ती मनाउँछौँ एक घण्टा सम्म बुझ न सुझ को भाषण ठोक्छौ । न त आफूले बुझेका हुन्छौँ या फेरी कसैलाइ बुझाउन सक्छौँ । या फेरी विपीका यी शब्दहरूलाई व्यवहारमा उतार्ने आँटै गर्न सक्छौँ । यहि हो हामीमा जमेर बसेको पाखण्ड । वोल्न त वोल्छौँ, सिकाउँछौँ पनि, तर जब आफ्नो पालो आयो यो बोलीबाट पछि हट्छौँ । हामी जति पनि एक वा अर्को राजनैतिक दलमा हिँडेका छौँ, कुनै नेताको पछि लागेर हिँडेका छौँ, न की कुनै आदर्श या सिद्धान्त बोकेर । हामीलाई आजको भोलि परिणाम चाहिन्छ । त्यो पनि भौतिक स्वरूपमा । यदि हामीले कुनै सिद्धान्तको पछि लाग्ने हो भने परिणाम आजको भोलि निस्कँदैन नै । तर प्रतिबद्धताका साथ निरन्तर लागी रहे भने नेताको ढोकामा झोला लिएर कुर्नु पर्दैन, कुनै दिन त्यो सिँगाने नेता तपाईँको ढोकामा नमस्कार गर्न आइपुग्छ। त्यस बेला यो नसोच्नोस् कि तपाईँको आदर्श र प्रतिबद्धताको कदर गरेर आएको भनेर । होइन नै । अव तपाईँ उसको स्वार्थ पुर्तीगर्न सक्ने लायक कार्यकर्ता हुन भयो भनेर । हेर्नुहोस् ! यो सत्यको बोली हो, न की वीरभद्र या कुनै गणेशको । वीरभद्रले यसो भन्यो भनेर सत्यलाई लात नहान्नोस् । तपाईँ पनि फेरी आजका नेताहरूजस्तै नेपाल आमा प्रति गरेका पापका भागीदार हुनुहुन्छ ।

अव फेरी एक पटक हामीले हालसम्म बुझ्दै आएको सफलताको कसीमा नापौँ यी महान् त्यागीहरूलाई । १९९३ साल देखी आजसम्मको राजनैतिक दौरानमा को सफल भयो त । सहिद टङ्कप्रसाद, विपी? गणेशमान? गिरिजाप्रसाद? या फेरी प्रिय नेता खड्ग प्रसाद ओली, झलनाथ खनाल, शेर बहादुर देउवा। (पत्नी सहित) रामचन्द्र पौडेल, प्रचण्ड? बाबुराम?

यहाँ मैले बुझेका दुई तिनजना बुद्धिजीवीको पनि नाम लिन मन लाग्यो, पुराना राजनैतिक इतिहासका शाक्षी तथा नेपाली साहित्यको उच्चतम् खुड्कीलोमा आसन्न श्री मदनमणी दिक्षीतज्यु, नेका महेश आचार्य (यसपटकको चुनावमा हारेका तर धेरै पटक अर्थ र अन्य मन्त्रालय सम्हालेका), हाल नेका साभासद् प्रदीप गिरी । (माफ गर्नुहोला कसैको नाम छुटेभने) उहाँहरूलाई सोध्नुहोला, यो वीरभद्रको निजी सोचाई हो कि, सत्यले गरेको आव्हान हो भनेर ।
अव आज फेरी सुनौँ, भोलीकोलागी नारायणीको दलिल के छ भनेर ।

(नोटः लेखक आचार्य ज्यूँदा सहित पूर्ब प्रधानमन्त्री स्व. टंक प्रसाद आचार्यका सुपुत्र हुन् ।)