पत्रपत्रिका

निर्मला हत्या प्रकरणः त्यसो भए दिलीप विष्ट को हुन् ?

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्रममा सहभागिताका लागि बिहीबार महेन्द्रनगर आइपुगेका प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले शुक्रबार बिहान गत १० साउनमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका मातापिता दुर्गादेवी र यज्ञराजलाई भेटे ।

‘प्रहरीको सुरुवाती भूमिकाप्रति तपाईंहरूको असन्तुष्टि देखिएपछि नयाँ अनुसन्धान टोली बनाएर काम भइरहेको छ । नयाँ टोलीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ । निर्मलालाई बलात्कार गरी हत्या गर्ने व्यक्ति जतिसुकै शक्तिशाली भए पनि कानुनी दायरामा ल्याइन्छ । उसलाई छाडिन्न,’ भेटमा के कुरा भन्नुभयो भन्ने प्रश्नको जवाफमा आइजिपी खनालले भने, आजको नयाँ पत्रिकामा यो खबर छ ।

त्यसपछि उनलाई सोधियो, ‘त्यसो भए मुख्य अभियुक्त भन्दै गत ४ भदौमा पक्राउ गरिएका दिलीपसिंह विष्टचाहिँ को हुन् ? के उनी अवास्तविक र छद्म अभियुक्त हुन् ?’ जवाफमा आइजिपी खनालले भने, ‘अनुसन्धानका क्रममा शंकाको घेरामा आएका मानिसहरूलाई गिरफ्तार गरी सोधपुछ गरिन्छ ।

दिलीपमाथि पनि कानुनसम्मत ढंगले अदालतबाट म्याद लिएर सोधपुछ भइरहेको छ ।’

आयोगको कार्यक्रममा प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले झन् चर्को स्वरमा भने, ‘निर्मलाका अपराधी अन्तरिक्षमै भए पनि पक्राउ गर्छौँ ।’

स्थानीय र पीडित परिवारको आशंका तत्कालीन प्रहरी नेतृत्वप्रति रहिरहेको बुझेका आइजिपी खनालले सोही कार्यक्रममा भने, ‘एसपी हुँदा नै डिएसपीलाई बाँकी नराखेको मान्छे हुँ । यस घटनामा कुनै प्रहरी कर्मचारी दोषी देखिए एसपी त के, एआइजीसम्मलाई छाडिन्न ।’