उर्जा

जलविद्युत् आयोजनाको भौतिक प्रगति न्यून

म्याग्दी । म्याग्दीमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजनाको भौतिक प्रगति न्यून देखिएको छ । विद्युत् विकास विभागका अनुसार विसं २०७२ साउन ३० गतेभित्र उत्पादन अनुमति लिएका ती आयोजनाको अहिलेसम्म पाँच प्रतिशत पनि भौतिक प्रगति भएको छैन ।

चालीस मेगावाटको रघुगंगा, २० मेगावाटको अपर म्याग्दी, चार मेगावाटको रुप्सेखोला, २५ मेगावाटको दरवाङ म्याग्दीखोला र ८.४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सुस्त देखिएको विभागले जनाएको छ ।

अनुमतिपत्र लिई आयोजनाको भौतिक प्रगति २० प्रतिशत पु¥याउन नसकेका ३६ वटा आयोजनाको विवरण १५ दिनभित्र बुझाउन प्रवद्र्धक कम्पनीहरुलाई पत्राचार गरिएको विभागका महानिर्देशक नवीनराज सिंहले बताए ।

उनका अनुसार उत्पादन अनुमतिपत्र लिएको एक वर्षभित्र निर्माण शुरु गर्नुपर्ने व्यवस्था विद्युत् नियमावली २०५० को नियम २१ मा गरिएको छ तर ती आयोजनाले यसलाई परिपालना गरेका छैनन् । आयोजना प्रगति न्यून हुनु र नियमित विवरण नबुझाउनुका कारण खुल्ने विवरण पेश गर्न उनीहरुलाई ताकेता गरिएको हो । प्रत्येक छ÷छ महिनामा आयोजनाको प्रगति विवरण विभागमा पेश गर्नुपर्ने नीतिगत व्यवस्था छ ।

विसं २०६८ साउन ३ गते उत्पादन अनुमतिपत्र पाएको र नेपाल विद्युत् प्राधिकरणले बनाउन लागेको रघुगंगा हाइड्रोको अहिलेसम्मको भौतिक प्रगति दुई प्रतिशत मात्रै छ । पुरानो सिभिल ठेकेदार कम्पनी आइभिआरसियल टाट पल्टिएपछि ऊ सँगको सम्झौता रद्द गरेर विसं २०७४ मंसिर पहिलो साता छ अर्ब रुपैयाँमा सम्झौता गरेको जेपी एशोसियट्स गत असार पहिलो हप्ता कार्यक्षेत्रमा परिचालन भएको छ । रघुगंगा हाइड्रोका सिभिल महाशाखा प्रमुख राजकुमार श्रेष्ठले मनसुन सकिएलगत्तै बाँध, सुरुङ र विद्युत् गृहको काम एकैसाथ अघि बढाउने तयारी गरेको बताए।

धौलागिरि कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोलाले २०७१ फागुन ४ गते उत्पादन अनुमति पायो तर, लगानीसम्बन्धी विवादका कारण उसको अहिलेसम्म तीन प्रतिशत मात्रै प्रगति भएको छ । विवाद समाधान भएपछि हालै सानिमा बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन गरेको धौलागिरि कालिका हाइड्रोका सञ्चालकहरुले आगामी हिउँददेखि भौतिक पूर्वाधारको काम शुरु हुने बताएका छन् ।

हाइड्रो इम्पाएर प्रालिले धवलागिरि गाउँपालिकामा निर्माण गर्न लागेको २० मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले विस २०७० चैत ६ गते उत्पादन अनुमति पाएको थियो । दुई प्रतिशत भौतिक प्रगति भएको आयोजनाले आगामी दशैं लगत्तै पहुँच मार्ग, बाँध र सुरुङको काम शुरु गर्न लागेको छ । भौगोलिक विकटताका कारण आयोजना निर्माणमा ढिलाइ भएको प्रवद्र्धकहरुको भनाइ छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानास्थित पर्यटकीय स्थल रुप्से झरना क्षेत्रमा म्याग्दी रिसर्च एण्ड डेभलपमेन्ट गु्रपले चार मेगावाट क्षमताको रुप्सेखोला जलविद्युत् आयोजनाका लागि विसं २०७१ वैशाख ५ गते उत्पादन अनुपति पाएको थियो । आयोजना निर्माण कार्य प्रसिद्ध रुप्से झरनाको सौन्दर्यमा असर पर्ने र त्यसबाट पर्यटकको आगमन घट्ने स्थानीय बासिन्दाको अडानका कारण अल्झिएको छ । विवाद पछि वातावरणीय असर नपर्ने गरी पहिले प्रस्ताव गरेको भन्दा अर्कै ठाउँमा बाँध बनाउने डिजाइन तयार गरेर आयोजनाको निर्माण अघि बढाउने तयारी भएको छ । रुप्से खोलाको अहिलेसम्मको प्रगति ०.५० प्रतिशत छ ।

अन्नपूर्ण गाउँपालिका–६ घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माणका लागि विसं २०७२ असार ११ गते उत्पादन अनुमति पाएको म्याग्दी हाइड्रोपावर लिमिटेडले २०७४ चैतदेखि पूर्वाधार निर्माणको काम शुरु गरेको छ । बाँध रहने ठाउँ शिख र घारको सिमाना कुरिलाबगरसम्म पहुँचमार्ग पु¥याएर बाँध, सुरुङ, विद्युत् गृहको निर्माण शुरु गरिसकेको आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले जानकारी दिए । विसं २०७७ मा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको ५० प्रतिशत र पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाको ९२ प्रतिशत निर्माण कार्य सकिएको छ । एकसय मेगावाट क्षमताको नीलगिरि र नीलगिरि क्यास्केटले पहुँचमार्ग निर्माणलाई तीव्रता दिएका छन् ।

विभागका अनुसार म्याग्दीमा ३०८ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । यस बाहेक १४४.३ मेगावाट क्षमताका सात आयोजनाले पूर्वाधार निर्माणको अनुमति पाएका छन् भने १६४ मेगावाट क्षमताका चार आयोजना पूर्वाधार निर्माणको प्रक्रियामा छन् । तीन सय ५८ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजनाको सर्वेक्षणका लागि विभिन्न प्रर्वद्धक कम्पनीहरुलाई अनुमति दिइएको विभागको वेबसाइटमा उल्लेख छ । यसैगरी, २४२ मेगावाट क्षमताको आठ वटा आयोजना सर्वेक्षणका लागि विभागमा निवेदन परेको छ ।

म्याग्दीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रशारण लाइनमा जोड्न अन्नपूर्ण गाउँपालिका–३ दानामा २२० केभी क्षमताको सब–स्टेशन निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत दानादेखि पर्वतको खुर्कोटसम्म प्रशारण लाइन निर्माण भइरहेको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए।

यसैगरी, मालिका गाउँपालिका–७ बिमको डाँडाखेत र रघुगंगा गाउँपालिका–३ पिप्लेको राहुघाटमा सब–स्टेशनका साथै डाँडाखेतदेखि राहुघाट जोड्ने प्रशारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अघि बढाएको छ ।