खेलकुद

खेलाडीलाई जनही रु पाँच लाख

काठमाडौँ । इण्डोनेसियामा जारी १८ औँ एशियाली खेलकूदमा रजत पदक जित्न सफल प्याराग्लाइडिङका खेलाडीले जनही रु पाँच/पाँच लाख पाउने भएका छन् ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को २०६८ साल चैत २१ गतेको सञ्चालक समिति बैठकले एशियाडमा व्यक्तिगत स्पर्धातर्फ स्वर्ण जिते रु २५ लाख, रजत जिते १५ लाख र कास्य जिते रु १० लाख तथा समूहगत स्पर्धातर्फ स्वर्ण जिते प्रतिखेलाडी रु १०, रजत जिते रु पाँच र कास्य जिते रु दुई लाख दिने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार नेपाली प्याराग्लाइडिङ टोलीले अब जनही रु पाँच लाख पाउने नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र रावतले जानकारी दिए। विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापाको नेपाली टोलीले प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीमा नेपाललाई रजत दिएको थियो ।

यस्तै प्रशिक्षकद्वय योगेश भट्टराई र सानुबाबु सुनुवारले जनही रु तीन लाख पाउने छन् । त्यसैगरी पदक दिलाएबापत प्रशिक्षक र खेल सङ्घलाई समेत पुरस्कार दिने निर्णय भएको थियो । सोही निर्णयअनुसार प्याराग्लाइडिङ सङ्घले पनि रु छ लाख पाउने भएको छ । इण्डोनेसियामा रजत पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको नेपाली प्याराग्लाइडिङ टोली आइतबार बेलुका नेपाल आइपुग्ने महासचिव रावतले जानकारी दिए ।
नेपालद्वारा मलेशियासामु १८९ रनको लक्ष्य प्रस्तुत

एशिया कप छनोट क्रिकेटअन्तर्गत नेपालले आयोजक मलेशियासामु जितका लागि १८९ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेशियाको राजधानी क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिपेन्द्रसिंह ऐरी र अरिफ शेषको अर्धशतकको मद्दतले सात विकेटको क्षतिमा १८८ रन बनाउन सक्यो ।

नेपालका लागि कप्तान पारस खड्काले १३, अनिलकुमार साहले १६, दिपेन्द्रसिंह ऐरीले ५४, ज्ञानेन्द्र मल्लले ११, अरिफ शेषले नटआउट ६४ रनको योगदान गरे । खेल शुरु हुनुअघि बिहान भारी वर्षा भएपछि खेल ३० ओभरमा झारिएको थियो । केहीबेरमा मलेशिया जवाफी ब्याटिङमा उत्रनेछ ।