गण्डकी प्रदेश

बढ्दो मोबाइलको प्रयोगले पठन संस्कृतिमा कमी

पोखरा । बढ्दो मोबाइलको प्रयोग र पठन संस्कृतिको कमीले पुस्तकालयमा पढ्न जाने पाठकको सङ्ख्या घट्दै गएको छ । प्रविधिका कारण जुनसुकै स्थान विशेषमा नै आवश्यक पर्ने पाठ्यवस्तु मोबाइलमा प्राप्त गर्ने क्रमसँगै दिनानुदिन युवा पुस्तामा देखिएको पठन संस्कृतिको हसका कारण पुस्तकालयमा गरिएको लगानीको अपेक्षित उपयोग हुनसकेको छैन ।

नेपालमा औपचारिक पुस्तकालय स्थापना प्रारम्भ गरेको दुई शताब्दी पार भइसके पनि राज्यले समेत पुस्तकालय क्षेत्रलाई अझै प्राथमिकतामा राख्न नसकेको सरोकारवाला बताउँछन् ।

विसं १८६९ भदौ १५ गते तत्कालीन राजा गीर्वाणयुद्ध वीर विक्रम शाहले लालमोहर जारी गरी ‘पुस्तक चिताइ तहबिल’ को स्थापना गरेका थिए । त्यहीँ मितिलाई आधार मानेर २०६५ सालदेखि नेपालमा जनस्तरमा पुस्तकालय दिवस मनाउन थालिएको थियो । आठौंँ स्थापना दिवसदेखि भने राज्यस्तरमा नै शिक्षा सचिवको संयोजकत्वमा मनाउन थालिएको छ ।

पोखरा सार्वजनिक पुस्तकालयका सहसचिव सूर्य क्षेत्रीका अनुसार पछिल्ला वर्षमा पुस्तकालयप्रेमीको विशेष सक्रियतामा यस दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गर्दै विभिन्न कार्यक्रमका साथ मनाउने गरिएको छ ।

दिवसका अवसरमा पुस्तकालय तथा सूचना विज्ञानका क्षेत्रमा भएका गतिविधि एवं पुस्तकालयको आवश्यकताबारे जानकारी गराउने, देशभर पुस्तकालयको स्थापना, संरक्षण र विकासमा सहयोग पु¥याउने अभियान नै थालिएको छ । प्रविधिप्रतिको बढ्दो मोह र युवा पुस्तामा पढ्ने बानी कमी हुँदै जाँदा पुस्तकालयमा पाठकको सङ्ख्या अपेक्षितरुपमा बढ्न नसकेको क्षेत्रीको भनाइ छ ।

पोखरामा पहिलोपटक २००९ सालमा हालको पोखरा महानगरपालिका–१३ कुँडहरस्थित ‘अरण्यज्योति’ पुस्तकालय स्थापना भएको थियो । पुस्तकालयको गरिमा र महत्वलाई निरन्तरता दिन यसलाई थप व्यवस्थित बनाउने लक्ष्यका साथ आवश्यक तयारी भइरहेको व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए ।

उनका अनुसार पुस्तकालयमा हाल सात हजार ५०० पुस्तक छन् भने विद्युतीय पुस्तकालयको अवधारणा समेतका आधारमा इमेल इन्टरनेट सुविधासहित १४ वटा कम्प्युटर राखिएको छ । पुस्तकालयलाई व्यवस्थित बनाउने सोचका साथ काम थालिएको बताउँदै उनले युवामा पुस्तकालय जानुपर्छ, सिक्नुपर्छ भन्ने भावनाको विकास गराउनु आवश्यक भएको बताए ।

पुस्तकालयको आफ्नो ऐतिहासिकताको प्रचारप्रसार एवं सर्वसाधारणलाई पुस्तकालय गएर पढ्ने बानीको विकासका लागि वडा नं १३ अन्तर्गतका ४१ वटा टोल विकास संस्थामा घुम्ती पुस्तकालय सेवा सञ्चालनको तयारी गरिएको भण्डारीले बताए । पोखराका क्याम्पस तथा विद्यालयमा रहेका पुस्तकालयका अतिरिक्त सामुदायिक रुपमा हाल सञ्चालनमा आएका महेन्द्रपुलस्थित पोखरा सार्वजनिक पुस्तकालय, भण्ढारढिकस्थित दीपशिखा सामुदायिक पुस्तकालय, रामबजारस्थित ज्ञानज्योति पुस्तकालय, मालेपाटनस्थित शहीद स्मृति पुस्तकालय आदि सञ्चालनमा छन् ।

महेन्द्रपुलस्थित पोखरा सार्वजनिक पुस्तकालयमा १३ हजार पुस्तक सहित ५० भन्दा बढी अनुसन्धानात्मक पत्रपत्रिका एवम् जर्नल पढ्न पाइन्छ । विद्युतीय पुस्तकालयको अवधारणा समेतका आधारमा सञ्चालित यस पुस्तकालयमा बालबालिकालाई पुस्तकालय जाने बानीको विकास गर्न खेलौनालगायतको व्यवस्था पनि गरिएको छ । देशभर निजी तथा सामुदायिक, विभिन्न विश्वविद्यालय तथा अन्य सङ्घसंस्थाका गरी करीब ४० हजार पुस्तकालय रहेको अनुमान छ ।

नेपालमा पुस्तकालय सेवा शुरु भएको दुई सय वर्षपछि सरकारी तबरबाट ‘पुस्तकालय तथा सूचना सेवा राष्ट्रिय नीति–२०६४’ र ‘पुस्तकालय तथा सूचना व्यवस्थापन निर्देशिका–२०६९’ जारी गरी त्यस अनुरुप व्यवस्थित रुपमा पुस्तकालयको संरक्षण र विकासको पहल थालिएको पाइन्छ ।

पुस्तकालय व्यक्तित्व विकासको महत्वपूर्णस्थल भएको बताउने नेपाल पुस्तकालय सङ्घका केन्द्रीय अध्यक्ष अशोक थापा पछिल्लो समयमा पठन संस्कृतिमा देखिएको हस गम्भीर चासो र चिन्ताको विषय भएको धारणा राखे । पछिल्लो पुस्ता सूचना प्रविधिमैत्री बनेको बताउँदै उनले समयको मागअनुरुप पुस्तकालयलाई व्यस्थित गर्नुका साथै प्रविधिमा आधारित विद्युतीय पुस्तकालयको अवधारणालाई आत्मसात गर्नुपर्नेमा जोड दिए ।

पुस्तकालयको उचित व्यवस्थापनले पनि पाठकलाई आकर्षित गर्ने बताउँदै थापाले पाठकलाई पुस्तकालय जाउँ/जाउँ भन्ने वातावरण तयार गर्नुपर्ने उल्लेख गरे । “युवा पुस्ताले चाहेको प्रविधिमैत्री पुस्तकालय व्यवस्थापनका साथै घर, विद्यालय, शैक्षिक संस्था एवं समग्र समुदाय नै उनीहरूको पठन संस्कृतिको विकासमा जुट्नु अपरिहार्य छ,”–उनले थपे ।