सूचना प्रविधि

सूचनाको हकसम्बन्धी प्रशिक्षण शुरु

काठमाडौँ । सूचनाको व्यवस्थापन र प्रवाहमा सरकारी निकायको क्षमता बढाई जनउत्तरदायी शासन प्रणालीको विकास गर्ने उद्देश्यले ‘सूचनाको हक’ सम्बन्धी तीनदिने आवसीय प्रशिक्षण कार्यक्रम आजदेखि धुलिखेलमा शुरु भएको छ ।

लोकतन्त्र, विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको हक, सुशासन र पारदर्शीताका क्षेत्रमा क्रियाशील संस्था फ्रिडम फोरमद्वारा आयोजित उक्त प्रशिक्षण कार्यक्रममा प्रदेश नं १ का ओखलढुङ्गा तथा प्रदेश नं. ३ का सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुली र मकवानपुरका विभिन्न स्थानीय तह तथा जिल्लास्थित सरकारी कार्यालयका गरी २१ सूचना अधिकारीको सहभागिता रहेको छ ।

कार्यक्रममा सूचनाको हकको अन्तर्राष्ट्रिय अभ्यास, अवधारणा, मान्यता, सैद्धान्तिक पक्ष, संवैधानिक र कानूनी पक्ष, सूचना अधिकारीको भूमिका, सूचनाको स्वतः खुलासा, सुशासन र सूचनाको हकको सम्बन्ध तथा स्थानीय सरकार र सूचनाको हकको प्रचलनजस्ता विषयमा प्रशिक्षण दिइने फ्रिडम फोरमका कार्यक्रम अधिकृत भावना पोद्दारले जानकारी दिए ।

यसअघि फोरमले प्रदेश नं ७ को धनगढी, प्रदेश नं. ६ को सुर्खेत, प्रदेश नं.५ को दाङ र कपिलवस्तु तथा प्रदेश नं. ३ को भक्तपुरमा सूचनाको हक सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ ।