प्रवास

कृसु क्षेत्री को “चराको गीत” लोकार्पण

न्यू योर्क । न्यू योर्कमा नेपाल सरकारका वाणिज्यदुत तथा सुपरिचित साहित्यकार कृसु क्षेत्रीको बहुप्रतिक्षित रचना कृति ‘चराको गीत’ (कविता संग्रह) को अगस्ट २५ तारिख न्यू योर्क शहरको जेविस सेन्टर ज्याक्सन हाईट्समा लोकार्पण सम्पन्न भएको छ ।

‘चराको गीत’ को लोकार्पण महामहिम राजदूत डा. अर्जुनकुमार कार्कीले गरेका थिए। युएसनेपालअनलाईनको आयोजनमा डाकिएको समारोह जर्सी सिटीका मेयरकी सल्लाहकार डा. विष्णुमाया परियारको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

समकालिन नेपाली साहित्यका प्रतिनिधी स्रष्टा कृसु क्षेत्रीले आफ्नो रचनाको आरोह अवरोहको गाथा र केही उम्दा कविताहरु वाचन गरेका थिए ।

बिलयन लेखन् का प्रबर्तक साहित्यकार कृसु क्षेत्रीका अर्धमुदित आँखाहरु (गजल), बोधिसत्वको मृत्यूउत्सव (कविता), आगोको मुर्छना (विलयन काव्य), रगतको दरबार (विलयन काव्य), म्यानमामा नेपाली भाषा, साहित्य र संस्कृति, जापानमा नेपाली भाषा र साहित्य र चौध वर्षपछि (संयुक्त कविता) कृतिहरु प्रकाशित छन् ।

युवा वर्ष मोती पुरस्कार (२०६६), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५८), गजलश्री सम्मान (२०६०), राष्ट्रिय कविता महोत्सव २०५७ (स्वर्ण पदक) , राष्ट्रिय युवा प्रतिभा पुरस्कार (२०७२), देबकोटा शताब्दी स्वर्ण पदक लगायत एक दर्जन साहित्यिक पुरस्कारहरुबाट सम्मानित छन्।

साहित्यकार एवं वाणिज्यदूत कृसु क्षेत्री न्यू योर्कका नेपाली समाजमा मिजासिला नेपाली डिप्लोम्याट र लोकप्रिय वक्ताको रुपमा रुचाईन्छन् ।

कार्यक्रममा अतिथीहरूको स्वागत /कार्यक्रम संचालन तथा साहित्यकार क्षेत्रीको पुस्तक ,रचना तथा अन्य साहित्यकारहरुले क्षेत्रीको बारेमा लेखेका कुराहरु युएसनेपालअनलाईनका प्रधान सम्पादक प्रदिप परियार थापाले गरेका थिए ।