प्रदेश 1

चन्दा सङ्कलन गरेर कम्प्युटर कक्षा सञ्चालन

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यू माविमा कम्प्युटर कक्षा सञ्चालन गरिएको छ । सुन्तले स्थायी घर भई हाल बेलायत (युके) मा बस्दै आएका चन्द्र राईको नेतृत्वमा सङ्कलन गरिएको ११ थान कम्प्युटर जडान गरेर कक्षा सञ्चालन गरिएको हो ।

विद्यालयमा विद्युत् नभएको समयमा पनि निरन्तर कक्षा सञ्चालन गर्न १६ थान सोलार सेटसमेत जडान गरिएको छ । समाजसेवी राईले नौ थान कम्प्युटर र १६ थान सोलार सेट साकुमा फ्रेण्डसिप ट्रष्ट युकेमार्फत विद्यालयलाई उपलब्ध गराउनुभएको प्रधानाध्यापक तुलसीराम पोखरेलले जानकारी दिए ।

थप तीन थान कम्प्युटर ध्यानकुमार राई, उषा–दीपेन राई र मुकेश राईले एक/एक थान उपलब्ध गराएको जनाइएको छ । विद्यालयमा कम्प्युटर कक्षा सञ्चालनका लागि रु १२ लाख २५ हजार बराबरको अक्षयकोषसमेत स्थापना गरिएको छ ।

सुन्तलेमा जन्मिएर विभिन्न देशमा कार्यरत प्रवासीबाट रु १० लाख ८९ हजार र स्थानीयवासीबाट सङ्कलन भएको रु एक लाख ४३ हजार गरी अक्षयकोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणि राईले बताए ।

‘सुन्तले कम्प्युटर सञ्चालन अक्षयकोष’ नाम दिइएको अक्षयकोष स्थापनाका लागि कुवेतमा रहेका सुन्तलेका केदार आलेमगरको नेतृत्वमा रकम सङ्कलन गरिएको जनाइएको छ । अक्षयकोषमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले रु १० हजार, गाउँपालिका प्रमुख शालिकराम बञ्जराले रु २० हजार ५००, उपप्रमुख गोमा मगरले रु पाँच हजार र नेपाल कम्युनिष्ट पार्टीका स्थानीय युवा नेता निश्चल खड्काले रु सात हजार रकम उपलब्ध गराएको अध्यक्ष राईले जानकारी दिए ।

भौगोलिकरुपमा विकट मानिने सुन्तलेमा पहिलो पटक कम्प्युटर कक्षा सञ्चालन भएपछि कम्प्युटर सिक्ने विद्यार्थी तथा स्थानीयको भीड लागेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीसँगै स्थानीयवासीले समेत थोरै शुल्क तिरेर आफ्नै ठाउँमा कम्प्युटर शिक्षा हासिल गर्न पाउने भएपछि सुन्तलेवासी हर्षित भएका छन् ।

तीन सय ७१ जना विद्यार्थी अध्ययनरत विद्यालयमा स्थापना गरिएको कम्प्युटर कक्षामा केही दिनमै कम्प्युटर सिक्न चाहने स्थानीयवासीलाई समेत अवसर दिइने सञ्चालक समितिले जनाएको छ । विद्यालयमा कम्प्युटर कक्षा स्थापना भएसँगै इमेल/इन्टरनेट सेवासमेत विस्तार गर्ने तयारी गरिएको प्रअ पोखरेलले जानकारी दिए ।