साहित्य

स्मार्ट सिटीप्रति व्यङ्ग्यात्मक कविता

–मीना घोरसाइने/
काठमाडौँ । ‘मेरो प्यारो मान्छे प्रिय
प्रत्येक वर्ष आउँछ १४ फेब्रुअरी
र एकै पटक आउँछ फागुन १
म एकैपटक सम्झन्छु
त्यो जङ्गलको गुराँस र तिमीसँगको प्रणय
हामीले भिरेको बन्दुक र देशप्रतिको प्रेम’

प्रगतिशील कवि स्नेह सायमीले जनयुद्ध, काठमाडौँको विकृत रुप र त्यसमाथि भएको अतिक्रमण, मानिसको परिवर्तनशील प्रवृत्ति र जातीय सद्भाव विषयमा एक दर्जन कविता वाचन गेको छ । ‘जनसाहित्य मञ्चले आयोजना गरेको अविरल जनसाहित्य यात्रा–४९ अन्तर्गत ‘एकल कविता वाचन’ कार्यक्रममा उहाँले ‘कोर्रा’, ‘झोला’, ‘हजुर महान् हुनुहुन्छ’, ‘सेना’, ‘चौतारो बोल्यो’, ‘प्रवेशद्वार’, बन्दूक र रातो गुराँस, ‘लसकुशमा काठमाडौँ’, ‘हामीलाई सञ्चै छ’, ‘स्मार्ट सिटी काठमाडौँ’, ‘सिसा र जिन्दगी’ र ‘पुल र पर्खालहरु’ शीर्षकका १२ कविता सुनाएका थिए ।
उनलाई कविता वाचनमा मातृका पोखरेल, लक्ष्मी माली र अस्मिता मानन्धरले साथ दिएका थिए । वाचित कवितामाथि समीक्षा गर्दै डा नेत्र एटमले सामान्य अनुभूतिलाई विशिष्ट कला दिएर कविता बनाउन सक्ने कवि सायमीले आफ्ना अनुभव, संवेग र कल्पना मिलाएर कविता सिर्जना गरेको बताए । “उहाँका कविताका विषय सुन्दा सामान्य छन् तर भाव जटिल र बहुअर्थक छन्”, उनले भने। व्यवस्थापनविज्ञ सायमीका ‘चौतारो बोल्यो’ तथा ‘पुल र पर्खालहरु’ शीर्षकका कवितासङ्ग्रह प्रकाशित छन् ।

प्रा राजेन्द्र सुवेदीले सायमी कुरालाई साहित्यमा ढाल्नसक्ने क्षमताका कवि भएको बताए । “उहाँका कवितामा गहन विम्बको प्रयोग भएको छ ”, सुवेदीले भने । जनसाहित्य मञ्चका अध्यक्ष राम विनयले मञ्चले काव्य र लघुकथा वाचन तथा दर्शन विषयमा बहस चलाइसकेको जानकारी दिए । मञ्चका काव्य विभाग प्रमुख डा विन्दु शर्माले तीसको दशकदेखि लेखन कर्ममा लागेका सायमी मिडियासम्बन्धी संस्थामा पनि आबद्ध भएको जानकारी दिए ।
‘घोडा कुद्छ
अति तीव्र गतिमा
र खान्छ कोर्रा’