गण्डकी प्रदेश

पर्वतमा लोप हुँदै घुमाउने घर

पर्वत । ग्रामीण भेगका बासिन्दाले परम्परागतरुपमा बनाएका खरले छाएका घुमाउने घर विस्तारै लोप हुँदै गएका छन् ।

घुमाउने घरभित्र अँध्यारा, धेरै कोठा नहुने र छानो छाउन वर्षेपिच्छे झण्झट हुने भएकाले घुमाउने घरप्रतिको आकर्षण घट्दै गएको हो । त्यसो त ग्रामिण क्षेत्रमा समेत आधुनिक सुविधासम्पन्न घर बनाउने चलन बढेकोले परम्परागत घर लोप हुँदै गएको बताइन्छ । केही वर्ष अघिसम्म पर्वतका विभिन्न गाउँमा बाक्लै देखिने घुमाउने घर अहिले एकाध देखिन्छ । हरेक गाउँका बासिन्दा शहर बजारतर्फ आकर्षित हुन थालेपछि र गाउँगाउँमा यातायात सुविधा पुगेपछि अहिले आधुनिक घर बन्न थालेका छन् ।

केही वर्ष अघिसम्म गाउँमा अधिकांश घुमाउने घर थिए तर अहिले सबैले ती घर भत्काएर फरक प्रकृतिका बनाउन थालेका छन् । घुमाउने घर बस्न न्यानो र स्वास्थ्यको दृष्टिले लाभदायक हुने भए पनि पछिल्लो समयमा धेरै कोठा भएको आधुनिक घर बनाउने प्रचलन आएपछि लोप हुँदै गएका छन् भन्छन् कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका बासिन्दा हेमराज सापकोटा । “सय वर्ष पहिलेका घर अहिले लोप भइसकेका छन्, भएका केही घर पनि उपयोगमा छैनन् जीर्ण भइसकेका छन्,” सापकोटा भन्छन् ।

मानिस उज्यालो, फराकिला र आरामदायी घरमा बस्न रुचाउन थालेकाले घुमाउने घर लोप हुँदै गएको स्थानीय रामकृष्ण सापकोटाले बताए । जस्तापाताको व्यापक प्रयोग, सुलभरुपमा पाइने र एकपटक छाएपछि बीसौँ वर्ष रहने हुनाले पुराना घर उपयोगविहीन हुन थालेको उनले बताए ।

डेढ दशकअघिसम्म पर्वतका विभिन्न ठाउँमा सयौँ घुमाउने घर थिए । अहिले औलामा गन्न सकिने छन् स्थानीय वृद्ध चिन्तामणि सुवेदीले भने । सवै क्षेत्रमा यातायातको सुविधा पुगेपछि सिमेन्ट, बालुवा र रड सजिलै उपलब्ध हुने भएकाले गाउँमा पक्की घर निर्माण गर्ने प्रचलन बढेको छ ।

पर्यटकको पर्खाईमा ऐतिहासिक पैँयुकोट दरबार

ऐतिहासिक महत्वको चौबिसे पैंयुराज्यको दरबार ओझेलमा परेको छ । महाशिला गाउँपालिका–१ होस्राङ्गदीस्थित सो दरबार उचित संरक्षण र प्रचारको अभावमा ओझेलमा परेको हो । सो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रयास थालिएको छ ।

धार्मिकरुपमा पनि महत्वपूर्ण पैँयुकोटमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटकीय क्षेत्रका रुपमा विकास थालिएको हो । पाँच सय वर्ष पुरानो दरबार र कालिका मन्दिरलाई पैँयुक्षेत्रको ऐतिहासिक सामग्रीसहितको सङ्ग्रहालय बनाउने र पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने उद्देश्यले अभियान थालिएको हो । एक वर्षभित्रमा सङ्ग्रहालयका लागि भवन निर्माणको काम थालिने पैँयुकोट संरक्षण समितिका पूर्वअध्यक्ष टीकाराम भुसालले जानकारी दिए ।

“ऐतिहासिक र धार्मिक तथा पर्यटकीय महत्वको क्षेत्र भएकाले यसको विकास र प्रर्वद्धनको काम थालिएको छ,” उनले भने । यसलाई मध्य दक्षिण पर्वतको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य छ ।

पाँच सय वर्ष पहिले सेन राजाले बनाएको मन्दिर र अग्लो डाँडा रहेकाले दृश्यावलोकन तथा घरबास क्षेत्रका रुपमा विकास गरी शालिग्रामशिलादेखि पैँयुकोट हुँदै गोर्लाङको लेकसम्म पदयात्रा मार्ग बनाउन सकिन्छ । यसलाई दक्षिण एशियाकै पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुवारी तथा डहरे, पञ्चासे हुँदै पोखरासम्मको पदयात्रा मार्ग बनान सकिन्छ । पर्वतको पर्यटन गुरुयोजनामा समेत पञ्चासेदेखि पैँयुकोट हुँदै सेतीवेणीसम्मको सो बाटो प्रस्तावित छ ।

यो पदयात्रा मार्गमा पर्ने शालिग्रामको छापाको मगर बस्ती, त्रिवेणीको चिन्नेखर्कको मगरबस्ती, उरामको गेप्ताङको मगरबस्ती, होस्राङ्दीको जम्मपुरको मगरबस्ती र भोक्सिङको गुरुङबस्तीमा घरबास सेवा शुरु भइसकेको छ । पदयात्रामा आउने पर्यटकलाई खान र बस्न सुविधा पु¥याउन घरबास सेवा शुरु गरिएको जम्पुर होमस्टेकी अध्यक्ष नैनकला रानाले बताए ।

पैँयुकोटमा १५०२ देखि छ जना सेन राजाले राज्य गरे । राजा रामसिंह सेनले राज्यभिषेक गरेपछि लाभसिंह, चामसिंह, दागम्बरसिंह, सङ्ग्रामसिंह, भूपभैरव र अकबरसिंह सेनले राज्य गरेको पाइन्छ । राजा अकबर सिंह सेनलाई नेपाल एकीकरणको समयमा आक्रमण गरेपछि उनले आफ्नै बारुदखानामा आगो लगाएर आत्महत्या गरेपछि पैँयुकोट राज्य नेपालमा गाँभिएको थियो । त्यसअघि मगर जातिका आले, राना, थापा र चितौरेले पालैपालो गरी राज्य सञ्चालन गर्दै आएका थिए ।

मगरका बीचमा राज्य सञ्चालनमा विवाद भएपछि भारतको बाँसीघार भन्ने ठाउँबाट सेन राजालाई ल्याएको सेन राजाका सन्तान कर्णप्रताप सेनले जानकारी दिए। सेन राजाको राज्य रहेको क्षेत्र भएकाले अहिले यसको संरक्षणमा जुटेको उनको भनाइ छ । अहिले पैँयुकोट र हुवासमा रहेको फूलबारी दरबार संरक्षणका लागि जिल्ला विकास समिति र संस्कृति तथा पर्यटन मन्त्रालयले काम गरिरहेका छन् ।