सामाजिक सञ्जाल

‘अन्तै हेरेर फेरी सोध्यौ, अनि बिहे चाहीँ गर्या छैनौ अझै ?’

प्रेम सरकार/काठमाडौं ।

निक्कै वर्षपछि भेटिएकी थियौ तिमी । साथमा
तिम्री नानी पनि थिइन् । सोधेकी थियौ – बिहे
गर्यौ ?
म फिस्स हाँसे । र उल्टो सोधेँ, कस्तो छ जीन्दगी ?
भन्यौ, खुशी छु । र तत्कालै सोध्यौ, तिम्रो कस्तो
छ ?
भनिदिएँ, अब म पनि खुशी भएँ ।
किन ?
तिमी खुशी छौ भन्ने थाहा पाएँ नि त ।
केही बोलिनौ, बाहानामा नानीको कपाल
मिलाइरहे झैँ गर्यौ मात्रै ।
केहीबेर पछि भन्यौ, कहिलेकाहीँ तिम्रो फेसबुक
स्टाटसहरु पढ्छु ।
तिमी फेसबुक चलाउँछौ र ?
कहिलेकाहीँ श्रीमानको बाट तिम्रो अकाउन्ट
सर्च गरेर स्टाटस पढ्छु । यस्तो लाग्छ, तिमीले ठुलै
कुरा गुमाएका छौ जीन्दगीमा ।
जुन कुरा पाउँदै पाइनँ, त्यसलाई कसरी गुमाएको भनुँ
म ?
पाउने प्रयास पनि पो गरेनौ की ?
त्यो यति नजिक थियो की, प्रयास गर्नुपर्ला भन्ने
नै लागेन ।
लागेको सबै कुरा सही नै हुन्छन् भन्ने पनि त हैन,
तिमीले भन्यौ । अनि सोध्यौ, दुखी छौ
नपाएकोमा ?
भनिदिएँ, भन्नु नभन्नु अलग कुरो तर यहाँ को पो
खुशी होला र ।
फेरी चुपचाप बस्यौ । बाहानामा फेरी पनि
नानीको कपाल मिलाइरहे झैँ गर्यौ मात्रै ।
एकछिन सन्नाटा छायो । दुबै मौन । दुबै भावुक ।
निक्कैबेर पछि म आफै बोलेँ – एउटा उपन्यास लेख्दैछु ।
मनमा रहेको प्रेम मनमै दबिएको एउटा मान्छेको
कथा ।
अन्तै हेरेर फेरी सोध्यौ, अनि बिहे चाहीँ गर्या छैनौ
अझै ?

म फेरी उसैगरि फिस्स हाँसे र यति भनेर हिँडेँ, त्यो
उपन्यास तिम्रो ठेगानामा पठाउनेछु ।
केही कुरा नभुलिने विगत बनेर बस्छ ।
सम्झिरहने सँधै सँधै आदत बनेर बस्छ । ।
समयले लगाउँछन् चोटहरु अनेक
केही निको हुन्छ, केही खत बनेर बस्छ । । ।

(प्रेम सरकार प्रवासमा बसी कलम चलाएर नेपाली लेखन क्षेत्रमा योगदान पुर्याउदैँ आएका छन्)