समाचार

दोषीलाई कारबाही गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बलात्कार तथा सामूहिक बलात्कारपछि हत्यालगातका महिला हिंसाका घटनाका दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगका सचिव वेदप्रसाद भट्टराईले आज गरेको प्रेस विज्ञप्तिमा महिला हिंसाका घटनासँग सम्बन्धित उजूरीहरूको दर्ता, छानबिन तथा तथ्य सङ्कलन, अभियोजनसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन, व्यक्तिको मानवअधिकारको सम्मान र रक्षा गर्न एवं हिंसा पीडित सबै बालिका तथा महिलाको न्यायमा पहुँच अभिवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले गम्भीर प्रकृतिका अपराधमा संलग्न दोषीलाई समयमै कानूनी दायरामा ल्याउन नसकेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै बलात्कार र हत्याजस्ता गम्भीर प्रकृतिको अपराधबाट पीडित भएका पक्षबाट प्रभावकारी अनुसन्धान र अभियोजन हुन नसकेको जनाएको छ ।

अपराधका घटनाको कानूनी पक्ष कमजोर हुने, प्रमाण सङ्कलनमा ढिलाई भई प्रमाण लोप हुनसक्ने, सामाजिक वहिष्करणमा पर्ने डरले घटनालाई आन्तरिकरुपमा मिलापत्र गराउने, साक्षी संरक्षणको व्यवस्था हुन नसक्ने जस्ता कारणबाट हिंसापीडित महिला तथा बालिका न्यायबाट वञ्चित हुन सक्ने देखिएको छ । आयोगले ७७ जिल्लामा मानवअधिकारका मूल चुनौतीका विषयमा गरेको अध्ययनबाट महिला हिंसा मुख्य समस्याको रुपमा रहेको पाइएको थियो ।