समाचार

घ्याम्पेडोल–वाणभञ्ज्याङ सडकखण्डमा पुल

काठमाडौँ । लिच्छिवीकालदेखि नै काठमाडौँ उपत्यकाभित्र छिर्ने महत्वपूर्ण नाकाका रुपमा रहेको घ्याम्पेडोलदेखि वाणभञ्ज्याङसम्मको सडकखण्ड स्तरोन्नतिका लागि तीन तहकौ प्रतिनिधिका साथै स्थानीयवासी पनि अग्रसर भएका छन् ।

काठमाडौँ महानगरपालिका, नागार्जुन नगरपालिका र चन्द्रागिरि
नगरपालिका क्षेत्रमा पर्ने खड्कागाउँ (भलु भैरव टोल) स्थित घ्याम्पेडोलमा सानो पुल (कल्भर्ट) शिलान्यासका क्रममा जनप्रतिनिधिले करीब सात किलोमिटरको उक्त सडकखण्ड अहिले ओझेलमा परेकामा चिन्ता पनि व्यक्त गरे ।

कलङ्कीदेखि थानकोटसम्मको राजमार्ग निर्माण भएपछि यो सडकखण्डको महत्व कम हुँदै गएको थियो । तात्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणका क्रममा सोही मार्ग भई काठमाडौँ उपत्यकामा गोर्खाली सेनालाई भित्र्याएको इतिहास छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा पर्ने उक्त पुल शिलान्यासपछि प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले प्राचीन समयदेखि नै काठमाडौँ उपत्यकाभित्र र बाहिर आवतजावत गर्न प्रयोग गरिएको यो सडकको ऐतिहासिक महत्व रहेकाले जतिसक्दो चाँडो पुल निर्माण गरेर बाटो सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले भने, “भाषणभन्दा पनि अब स्थानीय विकास निर्माणका काम काम गरेर देखाउनुपर्छ । कलङ्कीदेखि नागढुङ्गासम्मको राजमार्ग स्तरोन्नतिमा भइरहेको ढिलाइले देशको अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश प्रबाह भइरहेको छ ।”

करीब रु ४५ लाखको लागतमा निर्माण गर्न लागिएको उक्त पुल दशैँअगावै सम्पन्न गर्ने लक्ष छ । विसं १९८३ मा भीमशम्शेरले यो मार्ग स्तरोन्नतिका लागि सहयोग गरेको अभिलेख हालै उत्खननका क्रममा पाइएको छ ।
कुनै समय वाणभञ्ज्याङबाट पश्चिमतर्फ बलम्बु, चेकपोष्ट, चितलाङ हुँदै हेटौँडा पुगेर तथा घ्याम्पेडोलदेखि पूर्वमा मकालुचोक, बाफल, ताहाचल, भीमसेनस्थान हुँदै हनुमानढोका आएर व्यापार गर्ने गरिन्थ्यो ।

प्रदेशसभा सदस्य केशव पोखरेलले करीब १३ वर्ष अगाडि उक्त मार्गलाई फराकिलो र स्तरीकरण गर्न बोलपत्र भइसकेकामा राजनीतिक अस्थिरताका कारण काम सम्पन्न गर्न नसकिएको जानकारी दिए।

कामपा–१४ खड्कागाउँ, नागार्जुन–१० वडामा घ्याम्पेडोल, चन्द्रागिरि–१३ मा पुरानो नैकाप, सोही नगरपालिकाको १४ वडामा नयाँ नैकाप, नगरपालिकाकै १२ वडामा बलम्बु चोक र १ वडामा दहचोकमा पुराना सम्पदास्थल पाइन्छ । मानिस हिँडडुल गर्दा बासस्थानका लागि थकाइ मार्नका लागि विश्रामस्थल तथा पाटीका केही भग्नावशेष यस मार्गमा पाइन्छ ।

कामपा–१४ वडाध्यक्ष शोभा सापकोटाले स्थानीय तहदेखि पूर्वाधार विकास तथा निर्माणका कार्य भए मुलुकको समृद्धिका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै महानगरको दोस्रो सभाले करको दायरा बढाए।पनि कर घटाएको र जन्म तथा मृत्युसम्बन्धी दर्ताका कार्य ३५ दिनभित्र गरिए निःशुल्क हुने व्यवस्था भएको बताए ।

राणाकालमा चारघोडे बग्गी सञ्चालन हुने सो सडकखण्डमा २६ फिटको मापदण्डलाई आधार बनाएर उक्त सडक तथा आसपास क्षेत्रको स्तरोन्नतिका लागि प्रयत्न भइरहेको छ ।

उक्त क्षेत्रमा अधिकांश स्थानीयवासीको साविकको लगत कट्टा हुन नसकेका कारण सडकखण्डमा जग्गा परेका व्यक्तिले अहिलेसम्म पनि भूमि कर तिर्दा सडकको करसमेत तिर्दै आएको स्थानीयवासी श्रीहरि खड्काले गुनासो गरे। कालु पाँडेको समाधिस्थलमा यो मार्ग पनि भएर जान सकिन्छ । पुल निर्माणका लागि यही भदौ १ गतेदेखि त्यस क्षेत्रमा सवारी साधनको आवागमनमा प्रतिबन्ध गरिएको छ । यहाँको ऐतिहासिक महत्वको सम्पदा संरक्षणका लागि स्थानीयवासी क्रियाशील छन् ।